उदयपुरको जिल्ला अस्पतालमा विरामीलाई सास्ती

उदयपुर । जिल्ला अस्पताल उदयपुर सुधार हुनुको साटो झनै अव्यवस्थित बन्दै गएपछि विरामीहरुले उपचारको साटो सास्ती भोगिरहेका छन् । मंगलवार राती विरामीले डाक्टर खोज्दा नभेटिएपछि विरामीले ठूलै सास्ती खेप्नु पर्यो भने विरामीका आफन्तहरुले तनाव झेल्नु पर्यो । एक गर्भवती महिला त्रियुगा नगरपालिका ९ की गीता खड्काको अप्रेशन गर्नुपर्ने अवस्थामा डाक्टरको खोजी हुदा नभेटिएपछि स्थिति तनावपूर्ण बनेको हो ।

डाक्टरलाई पटक पटक फोन सम्पर्क गर्दा पनि घण्टौं सम्पर्कमा नआएपछि स्थानीय अस्पताल र डाक्टरप्रति आक्रोसित बनेका थिए र गर्भवती महिलालाई रेफर गरी प्राईभेट हस्पिटल त्रियुगा लगिएको थियो । अप्रेशन गर्नुपर्ने अवस्थाकी सुत्केरीका आफन्तले खोज्दा डाक्टर सम्पर्कविहिन भईदिएपछि डाक्टरको तिब्र खोजी मात्र भएन अस्पताल केहीबेर तनावग्रस्त बन्न पुगेको थियो । खबर लगत्तै प्रहरी प्रमुख तथा निमित्त प्रमुख जिल्ला अधिकारीसमेत त्यहाँको अवस्था बुभ्mन अस्पताल पुगेका थिए ।

सरकारी हस्पिटलबाट राम्रो सेवा पाईन्छ भन्ने आसामा गएका गर्भवती र उनका आफन्तहरुले त्यहाँ विरामीको ज्यानको सुरक्षासमेत नहुने खतरा देखेर अन्तै जानु परेको बताए । सरकारी अस्पतालको अवस्था त्यतिसम्म गिर्दासम्म सम्बन्धीत निकाय, सरोकारवालाहरु र जनप्रतिनिधिहरुले केही गर्न नसकेकोमा गुनासो गरे । पछि सम्पर्कमा आएका डा.अमिताभ ठाकुरले आफु बाहिर घुमफिरमा निस्केको बताए । एउटा फोन कोठामा रहेको र एउटा फोन साथैमा रहेको तर, कतैबाट फोन नआएको उनले बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विशालकुमार देवले डा ठाकुर डिउटीमा नबसिदिनाले सुत्केरी र सुत्केरीको आफन्तले खोजेको बेला नभेटिएको बताए । उनको कमी, कमजोरीप्रति कुरा गरिने डा. देबले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले सुचनै नगरी सम्पर्कविहिन हुनु डाक्टर ठाकुरको गल्ती रहेको बताए । जनताको उपचारमा आइपर्ने यस्ता कमीकमजोरीको बारेमा व्यवस्थापन, प्रशासन, कर्मचारी, चिकित्सक सबैसंग बसेर छलफल नै गरेर एउटा निस्कर्षमा जाने निमित्त प्रमुख जिल्ला अधिकारी खड्काको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *