चुनाबका लागि सुरक्षा कडा पार्न आयोगको निर्देशन

काठमाडौं— निर्वाचन आयोगले आगामी चुनावमा सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षाकर्मी निकायलाई निर्देशन दिएको छ। आयोगले बिहीबार  उच्चस्तरीय सुरक्षा समिति बैठक डाकेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको हो।

बैठकमा आगामी मंसिर १० र २१ मा हुने दुई चरणको चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।

बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलगायत सबै आयुक्त सहित, गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति थियो।

प्रमुख निर्वाचन आयुक्त यादवले गृह मन्त्रालयबाट प्रस्तुत गरिएको सुरक्षा योजना वस्तुगत र व्यावहारिक रहेको बताएका थिए। उनले पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको सुरक्षा, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रिय स्तरका नेताको सुरक्षाजस्ता विषयमा पनि पर्याप्त ध्यान दिन निर्देशन दिए।

‘चुनावमा सुरक्षा समन्वयको महत्वपूर्ण भूमिका भएकाले सुरक्षा निकायका सञ्चार संयन्त्र, साधनसमेत चालू अवस्थामा राखेर उच्चस्तरको समन्वय गर्नुपर्छ,’ यादवले भने। सुरक्षा संयन्त्रले निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न र सेना मातहतका साधन प्रयोग गर्न तीस दिनअघि सुरक्षा बेस स्थापना गर्ने जानकारी गराएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *