उदयपुरकाे पहिलो प्रहरी बिट प्रारम्भ

गजेन्द्र राई

उदयपुर, १५ पुस । जिल्लामा पहिलो प्रहरी बीट उदयपुरमा शुक्रबार उद्‍घाटन भएको छ । स्थानीय जनताको प्रत्यक्ष सहयोगमा सदरमुकाम गाईघाट स्थित पुरानो गाईघाटचोकमा सो प्रहरीबीटको उद्‍घाटन भएको हो । जिल्लाको बढ्दो शहरीकरण र त्यसबाट आउनसक्ने सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै सदरमुकाम गाईघाटमा उक्त प्रहरी बीटको स्थापना र विस्तार थालिएको प्रहरीले जनाएको छ ।

जिल्लाकै पहिलो पटक स्थापना भएको उक्त बिटको उद्‌घाटन जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले गरेका थिए । यसैगरी बजारक्षेत्रका पिपलचौक, आँखाहस्पिटल चौक, मूख्यचौक, बोक्से बरगाछिचौक लगायतका ठाउँमा पनि प्रहरी बीट विस्तार गर्दै लगिने भएको छ । बीट स्थापनाले प्रहरी सबैतिर छरिएर सतर्करुपमा रहने भएपछि गलत गतिविधिमाथि निगरानी बढ्ने र शान्ति, सुरक्षा कायम हुने विश्वास लिइएको छ । यहि कुरालाई बुझेर स्थानीय जनताले आफैले बीटघर निर्माण गरिदिएका हुन् ।

बीटघर स्थापनाले प्रहरीलाई घाम, पानी, हुरीबतासको बेला अर्काको घर, पसलतिर लुक्नु नपर्ने भएको छ । प्रगतिटोल विकास संस्था र पुरानो गाईघाट टोल विकास संस्थाको सहयोगमा निर्मित बीटघरका लागि जनताले घरघरबाट सकेको आर्थिक सहयोग जुटाएका थिए । शहरीकरणको बढ्दो दायरा र सुरक्षा चुनौतीहरुलाई मध्ये नजर गरी थालिएको प्रहरीबीट स्थापना र विस्तारको स्थानीय नागरिक समाज, अधिकारकर्मी, स्थानीय जनताले स्वागत गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, मानवअधिकार सञ्जाल उदयपुरका अध्यक्ष भरत खड्का, नेता मणी पौडेल, युवा दुर्गानन्द चौधरी लगायतले मन्तब्य दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *