दोस्रो चरणको चुनाव काँग्रेस–एमालेबीच प्रतिष्ठाको लडाईं, दुबै चाहन्छन् पहिलो बन्न

काठमाडौं– दोस्रो चरणको चुनावमा आफ्नो पार्टीको अग्रता दिलाउन अहिले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियानलाई त्रीव पारेका छन् । कम व्याक’ हुने विश्वास र दावी गरेको छ । एमाले चाहीँ पहिलो चरणको चुनावमा जस्तै दोस्रोमा पनि अगाडि भएर स्थानीय तहमा पहिलो शक्ति बन्ने दाउमा छ ।

संसद र पहिलो चरणको स्थानीय तहमा तेस्रो शक्तिका रुपमा रहेको माओवादीले दोस्रो चरणको चुनावबाट पनि तेस्रोकै अपेक्षा गरेको छ । तर, पहिलोमा भन्दा बढी नतिजा ल्याउने उसको चाहना छ । यसैका लागि माअ‍ोवादी केन्द्र सत्तारुढ काँग्रेसदेखि अन्य पार्टीहरुसम्म ठाँउ ठाँउमा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रेको छ ।

पहिलो चरणको चुनावमा अनपेक्षित नतिजाको सामना गरेको संसदको चौथो शक्ति राप्रपाले पनि दोस्रो चरणको चुनावबाट सुधारको अपेक्षा गरेको छ । मधेशमा स्वतन्त्र उम्मेदवारी दिएर राजपाले पनि स्थानीय निकायमा आफ्नो कब्जा जमाउने कोशिष गरेको छ । रोल्पा लगायतका केही जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएर विप्लवले पनि आफ्नो पार्टीका प्रतिनीधिलाई स्थानीय सरकारमा पठाउन चाहेका छन् ।

मुलत लडाईं काँगेस र एमालेबीच छ । पहिलो चरणको लागि २ सय ८३ स्थानीय तहमा भएको चुनावमा एमालेले १२५, काँग्रेसले एक सय ४, माअ‍ोवादी केन्द्र ४६ र अन्यले सात स्थानमा जीत निकालेका थिए । भरतपुर महानगरपालिकाको नजिता आउन वाँकी छ, जहाँ मतपत्र च्यातिकएको विषय अहिले सर्वोच्चमा छ ।

अंकको हिसावले काँग्रेस भन्दा एमाले पहिलो चरणको चुनावमा २१ ठाँउ बढी जितेर पहिलो स्थानमा छ, जुन संसदको ठूलो शक्ति काँग्रेसका लागि चिन्ताको विषय बनेको छ । यस्तो अबस्थामा चुनाव काँग्रेस र एमालेका लागि प्रतिष्ठाको विषय बनेको छ । यहीँ प्रतिष्ठा जोगाउन दलका शीर्ष नेताहरु अहिले जिल्ला–जिल्लामा पुगेका छन् । मतदाता पकाउन सपना पनि बाँडेका छन् । आश्वसन पनि दिएका छन् । अन्य पार्टीका नेताहरु पनि पहिलो स्थानीय तहको चुनावमा भन्दा राम्रो नतिजाका लागि दौडिरहेका छन् ।

असार १४ मा हुने दोस्रो चरणको निर्वाचन प्रसार प्रसार गर्ने समय भोलि अर्थात असार ११ गते राती १२ बजेबाट सकिन्छ । त्यसैले दलका नेताहरुले आज र भोलिलाई अधिकतम उपयोग गर्न खोजेका छन् । प्रमुख दलका शीर्ष नेताहरु आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई जिताउनका लागि मत माग्दै दैनिक आधा दर्जन बढी चुनावी कार्यक्रममा सहभागी भैरहेका छन् । अझ रमाइलो त के छ भने काँग्रेस नेताहरु दोस्रो चुनावमा आफ्नो पार्टी ठूलो हुने र एमाले नेताहरु आफ्नो पार्टी ठूलो हुने दावी गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सुदुरपश्चिममा काँग्रेसको बर्चश्व राख्न ७ नम्वर प्रदेशमा गएका छन् । जहाँ उनले दैनिक सभा गरेका छन् । प्रधानमन्त्री तथा कग्रेस सभापति एवम देउवाले शुक्रबार ७ नम्बर प्रदेशको कैलाली जिल्लाबाट आफ्नो चनावी अभियान सुरु गरेका थिए । देउवा शुक्रबार कैलालीका दुईवटा चुनावी सभालाई सम्बोधन गर्न भ्याएर कञ्चनपुर पुगेका थिए । आफ्नो प्रदेशमा शानदार जीतसहित काँग्रेसलाई पहिलो बनाउने देउवाको सोच छ ।

शक्रबार विहान कैलालीको धनगढी क्याम्पस चोक र फुलबारी डिपोबजारमा भएका चनावी सभालाई सम्बोधन गरेका देउवाले दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दावी गरका थिए । कैलालीको सभा र कार्यकर्ता भेटघाट सकेर देउवाले शुक्रबार नै कन्चनपुरको महेन्द्रनगरमा भएको चुनावीसभालाई पनि सम्बोधन गरेका थिए । देउवाका पछि–पछि काँग्रेसका रमेश लेखक, डा प्रकाशरण महत, एनपी साउद र प्रदीप पौडेलजस्ता नेता पनि छन् । अर्का नेता गगन थापा वैतडीमा थिए । सवै नेताले भाषणमा काँग्रेस ठूलो पार्टी बन्ने दावी गरेका थिए ।

धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा हिजो छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा काँग्रेसले जित्नै पर्ने बताएका थिए । प्रधानमन्त्री देउवाको भनाई थियो, ‘प्रजातन्त्र टिकाउन र सुदृढीकरण गर्नका लागि काँग्रेसको विकल्प छैन ।’

प्रधानमन्त्री देउवा ११ गते आइतबार डोटीको बुडर र गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री देउवा ११ देखि १४ गतेसम्म डडेल्धुरा सदरमुकाम अमरगढीमा बस्ने कार्यक्रम छ । १४ गते बुधबार  जन्मस्थान रुवाखोला गाउँको मतदना केन्द्र हाल (गन्यापधुरा गाउँपालिका वडा नम्बर १) असिग्राम माविको मतदना केन्द्रमा भोट हाल्ने कार्यक्रम रहेको उनका सहयोगि भानु देउवाले जनाएका छन् । १४ गते मतदान गरेर मात्रै प्रधानमन्त्री देउवा काठमाडौंँ फर्किने कार्यक्रम छ । देउवाबाहेक काँग्रेसले पार्टीका ३५ केन्द्रीय सदस्यलाई चुनाव हुन लागेका जिल्लामा खटाएको छ ।

एमाले अध्यक्ष केपी ओली गृह जिल्लामा ४ दिन चुनावी सभा गरेर बिहीबारमात्रै काठमाडौ फर्केका छन् । उनी शनिबार रुपन्देही लगायतका जिल्लामा गएर चुनावी सभालाई सम्बोधन गर्देछन् । ओलीले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमालेका अन्य नेता पनि चुनावी अभियानमै जुटेका छन् ।

एमालेका अर्का नेता माधव नेपाल झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल शुक्रबारै उदयपुर, इलाम र विराटनगर लगायतका स्थानमा भएका चुनावी सभामा सहभागि बनेका थिए । यी सभामा एमाले नेताहरुले पहिलो चरणमा जस्तै दोस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेले नै बढि स्थानीय तह जित्ने दावी गरे ।

पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका थिए । ‘हामीले महिलालाई राष्ट्रपति बनायौँ, सभामुख बनायौँ, प्रधान न्यायाधीश बनायौँ तर के अरू दलले बनाउन सके ?’ उनले  प्रश्न गर्दै इलाम पुगेर भनेका थिए, ‘प्रधानन्यायाधीश जस्तो स्वच्छ छवि भएका मान्छेलाई कारबाही गर्न खोजे तर पछि आफैँ झुक्नुपर्यो ।’
त्यस्तै माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुक्रबार कैलाली र कञ्चनपुरमा भएका सात भन्दा बढि चुनावी सभालाई सम्बोधन गरेका थिए । शुक्रबारै कैलालीको क्याम्पस रोड र कञ्चनपुरको पुर्नवासमा भएको चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको असली कामदार माओवादी केन्द्र र तिनका नेता भएको भन्दै उनिहरुलाई जिताउन आग्रह गरेका थिए । त्यस अवसरमा उनले माओवादी पार्टी साधु पार्टी भएको भन्दै साधुलाई सम्मान गर्न पनि अपिल गरे ।
सात नम्बर प्रदेशका विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवा र दाहालले उस्तै उस्तै भाषण गरेका थिए । संविधान कार्यन्वयनदेखि स्थनीय समस्याका बारेमा बोलेका दाहाल र देउवाले दुवैले आ–आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका थिए । आफ्ना पार्टीका उम्मेदवारले जिते जनताका समस्या र आवाश्यक्ता पुरा गर्न सहज हुने उनीहरुको दावी थियो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले हिजो दाङमा आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध लगायत कामले माओवादीको पक्षमा जनमत बढ्दै गएको बताएकाथिए । निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताएका थिए । ‘“पहिलो चरणको स्थानीय तह निर्वाचनमा हामीले ४६ वटा ठाउँमा जित्यौँ भने ५२ ठाउँमा दोस्रो भयौँ’, पुनको भनाई थियो, ‘त्यो पनि नराम्रो त होइन तर सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कम्ब्याक (पुनरागमन) हुने सम्भावना बढेर गएको छ ।’
यस्तै कांग्रेस नेता कृष्ण सिटौला केहि दिनयता गृहजिल्ला झापाको चुनावी सभामा व्यस्त बनेका छन् । उता, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार शुक्रबार दिनभर मोरङ सुनसरी लगायतका जिल्लामा व्यस्त रहे । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र र विवेकशील पार्टीकी रञ्जु दर्शनालाई समेत चुनावी प्रचारका कामले भ्याईनभ्याई भएको छ ।
उता कमल थापाले धर्मको राजनीतिबाट भोट मागेका छन् । हिजो उदयपुरको गाईघाटमा पुगेका थापाले वर्तमान अवस्थामा राप्रपाले नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरूले राज्यको पनि यही नीति होस् भन्ने चाहेको बताएका थिए । उनले यस्तै हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर अन्य धर्मप्रति सर्वधर्मको नीति लिँदै प्रत्येक नगर र गाउँपालिकामा हिन्दूको मन्दिर, बौद्धधर्मको गुम्बा, इस्लामको मस्जिद र क्रिश्चियनको चर्चको समेत निर्माण गरेर सबै धर्मको संरक्षणमा समेत जोड दिने नीति आफ्नो पार्टीको रहेको बताएका थिए ।दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशमा स्थानीय तहको चुनाव हुँदैछ । यसपटक ३ सय ३४ स्थानीय तहका लागि झन्डै ६२ हजार उम्मेदवार मैदानमा छन् । १५ हजार ३८ पदका लागि चुनाव हुँदैछ । देशभरका ७ सय ४४ स्तानीय तहमध्धे पहिलो चरणमा प्रदेश नम्वर ३, ४ र ६ का २ सय ८३ तहमा चुनाव पहिलो चरणमा भैसकेको छ । प्रदेश नम्वर २ को भने तेस्रो चरणमा असोज २ गतका लागि चुनावको मिति तोकिएको छ । १४ गतेको मतदानपछि कसको दावी सत्य हुन्छ ? असार १५ को रोपाईंसँगै बाहिर आउनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *