उदयपुर, ३१ जेठ । असन्न स्थानीय निर्वाचमा कुनै पनि पदको उम्मेदवार बन्न नपाउने भएपछि उदयपुरमा पत्रकारले राजीनामा दिन थालेका छन् । केहिदिन अघि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि जिल्लाका पत्रकारले महासंघको प्रतिनिधिबाट राजीनामा दिन थालेका हुन् ।
हाल राजीनामा दिनेमा हालै शाखामा निर्वाचित सदस्य शुपराज राईले रहेका छन् । उनले मंगलवार संघको वर्तमान कार्यसमितिको सदस्यबाट राजीनामा दिएको पत्रकार महासघ उदयपुरले जनाएको छ । राईले त्रियुगा नगरपालिका–१० बाट दोस्रो चरणकोे निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सदस्य पदको उम्मेदवार बनेपछि आफूले पत्रकार महासघ केन्द्रको निर्देशन अनुसार राजीनामा दिएको बताए ।
सघका वर्तमान कार्यसमितिका अर्का सदस्य तथा स्थानीय रेडियो त्रियुगाका प्रमुख समाचारदाता ईश्वर बलाम्पाकी मगरले पनि राजीनामा दिने तयारी गरेका छन् । मगरले त्रियुगा नगरपालिका–१६ बाट वडा सदस्य पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार दिने भएका कारण महासघको केन्द्रीय नीति र निर्देशनलाई पालना गर्दै राजीनामा दिन लागेको बताए ।
अन्यमा सघका वर्तमान कार्यसमितिका अर्का सदस्य यमकुमार राईले पनि त्रियुगा नगरपालिका–७ खाँबुबाट नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवार बन्ने र अर्का सघका कोषाध्यक्ष विश्वराज तामाङले पनि त्रियुगा नगरपालिका–१० बाट वडा सदस्यको उम्मेदवार बन्ने पछि अब राजीनामा दिनुपर्ने पत्रकार महासघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए ।
महासघले महासघमा आबद्ध प्रतिनिधि भए स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि अनिवार्य रुपमा राजीनामा दिनुपर्ने र दुई पदमा रहन नपाइने प्रावधान गरेपछि उदयपुरमा दश वर्षदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकारहरुले धमाधम पत्रकारिता पेसा छाडेर स्थानीय तहको उम्मेदवारीमा सहभागी हुँदै राजीनामा दिन थालेको सघका अध्यक्ष खड्काले बताए ।