



उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिक सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् ।
गहुँबारीबाट कटारीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो बिहान करिब १०ः३० बजे सडकबाट अनियन्त्रित भई झण्डै २० मिटर तल खसेर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेमध्ये केहीको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ ।
दुर्घटनामा चालक निर्पबहादुर खड्काको हातमा चोट लागेको छ । खड्काका अनुसार कम गतिमा गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल भएपछि गाडी नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो ।
Facebook Comments Box