गाईघाटमा सिटिको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु, हजुरआमा घाइते

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित शुभलक्ष्मी हलअगाडि शुक्रबार भएको सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी ७० वर्षीया हजुरआमा घाइते भएकी छन् ।

दुर्घटनामा त्रियुगा नगरपालिका–११ का शिवकुमार सदाककी दुई वर्षीया छोरी रागिनी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी उनकी हजुरआमा कन्की सदाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पानी बोकेको को १ प ०५–००१ च ०१९० नम्बरको पिकअप भ्यानलाई पछाडिबाट आउँदै गरेको को १ प ०५–००१ ह ०८७६ नम्बरको सिटि सफारीले ठक्कर दिएको थियो । ठक्करपछि सफारीमा सवार बालिका रागिनी गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सिटि सफारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको र अनियन्त्रित भई अगाडि रहेको पिकअप भ्यानलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिटि सफारीको आवश्यक कागजातसमेत नभएको पाइएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box