



उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकै परिवारका तीन बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो वर्षाका कारण पानी जमेर दह बनेको हडैया खोलामा पौडी खेल्ने क्रममा ११ वर्षीय सुमितकुमार दनुवार, उनका ७ वर्षीय भाइ सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवार डुबेका थिए । घटनापछि स्थानीयवासीले तत्काल तीनै जनाको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पुर्याएका थिए ।
तर चिकित्सकले उनीहरूलाई अस्पताल पुग्नासाथ मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलले जानकारी दिए । प्रहरीका अनुसार तीनै बालकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box