उदयपुरमा खयर काठ तस्करी काण्डः कर्मचारी–ठेकेदार मिलेमतोको आरोप, अख्तियारमा उजुरी (उजुरी र प्रमाण सहित)


रामपुर । उदयपुरको बेलका नगरपालिका क्षेत्रमा अवैध रूपमा खयर जातको काठ कटान भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा निवेदन परेको छ । निवेदन शुक्रबार बेलका नगरपालिका–९ का स्थानीय भिम प्रसाद घिमिरेले दिएका हुन् ।

स्थानीय घिमिरेले दिएको निवेदनमा डिभिजन वन कार्यालय गाईघाट र सव–डिभिजन वन कार्यालय मैनेमैनीका कर्मचारी, सामुदायिक वन उपभोक्ता समिति र केही ठेकेदारबीच मिलेमतो भएको आरोप लगाइएको छ ।

निवेदनमा उल्लेख अनुसार डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्र कुमार श्रेष्ठ, वन अधिकृत जागेश्वर साह, कम्प्युटर अपरेटर सञ्जय कामत, सव–डिभिजन वन कार्यालय मैनेमैनीका प्रमुख युवराज दर्लामी मगर, फरेस्टर राज कुमार मोक्तान, वन रक्षक अर्जुन खड्का र वन जमदार गिरिराज मगर लगायतको संलग्नता रहेको आरोप छ ।

निवेदन अनुसार सामुदायिक वन क्षेत्रका उपभोक्ताहरूले काठ मागका लागि कुनै निवेदन नदिएको अवस्थामा पनि सो व्यक्तिहरूले आफू अनुकूल ठेकेदारमार्फत काठ बिक्री वितरणका लागि सरकारी सम्पत्तिको दुरुपयोग गरी आर्थिक लाभ लिइरहेका छन् । निवेदनमा कोशी तटीय संरक्षण क्षेत्रभित्र रहेको खयरका रूखहरू अनाधिकृत रूपमा अहिले पनि धमाधम कटान भइरहेको उल्लेख गरिएको छ ।

यसरी संरक्षण क्षेत्रमै काठ कटान भइरहँदा भविष्यमा कोशी नदीको कटान तीव्र भई ठूलो जनधनको क्षति हुन सक्ने जोखिम औंल्याइएको छ । निवेदनमा सरकारी सम्पत्तिको दोहन भइरहेको भन्दै घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ ।

निवेदनमा सम्बन्धित निकायलाई तत्काल छानबिन गरी सरकारी सम्पत्तिको संरक्षण गर्न पनि आग्रह गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा पेश गरिएको निवेदन डिभिजन वन कार्यालय गाईघाट र सव–डिभिजन वन कार्यालय मैनामैनीलाई समेत बोधार्थ गरिएको छ । निवेदन शुक्रबार आयोगमा पेश गरिएको निवेदकको भनाई छ ।

उजुरी र प्रमाणः

Facebook Comments Box