उदयपुरका ३१ मध्ये १० उम्मेदवार अझै बैंक खाता बिनै चुनावी कारोबारमा

उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका उदयपुरका ३१ जनामध्ये १० जना उम्मेदवारले हालसम्म बैंक खाता नखोली चुनावी कारोबार गरिरहेको पाइएको छ । जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका अनुसार ३१ उम्मेदवारमध्ये २१ जनाले मात्र बैंक खाता खोलेर निर्वाचन खर्च सुरु गरेका छन् । बाँकी १० जनाले भने खाता खोल्नका लागि आवश्यक सिफारिससमेत नलिएको बताइएको छ ।

बुधबार गाईघाटस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार तथा निर्वाचनसम्बन्धी आचारसंहिता अभिमुखीकरण कार्यक्रममा कोलेनिका उदयपुर प्रमुख लक्ष्मी घिमिरेले जानकारी दिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि दुबै निर्वाचन क्षेत्रका ३१ उम्मेदवारमध्ये २१ जनाले मात्र खाता खोल्न सिफारिस लिएको र बाँकी उम्मेदवार अझै प्रक्रियामा नआएको उनले बताए ।

हाल लागू निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च गर्नका लागि कोलेनिकाको सिफारिसमा छुट्टै ‘निर्वाचन खर्च खाता’ खोली बैंकमार्फत नै सबै खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ । यस्तो व्यवस्था उल्लङ्घन गर्ने उम्मेदवारमाथि आचारसंहिता उल्लङ्घनको कसुर लाग्न सक्ने र पछि कानुनी झन्झटसमेत आउन सक्ने भन्दै जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालले उम्मेदवारलाई समयमै नियम पालना गर्न आग्रह गरेका छन् ।

उदयपुरमा निर्वाचन आचारसंहिताको कडाइका साथ अनुगमन भइरहेको र आचारसंहिता पालना नगर्ने उम्मेदवार, पार्टी वा व्यक्तिमाथि आवश्यक कारबाही गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ र २ का केही ठूला तथा पुराना राजनीतिक दलका उम्मेदवारले समेत अझै बैंक खाता नखोली कारोबार गरिरहेको भन्दै अनुगमन टोलीले विशेष निगरानी गरिरहेको कार्यालयको भनाइ छ ।

Facebook Comments