



उदयपुर । कोशी प्रदेशमा मैथिली र लिम्बु भाषालाई लिपि र भाषाको मान्यता दिँदै प्रदेशको संविधानमा सुनिश्चित गरिनुपर्ने माग पुनः जोडदार रूपमा उठाइएको छ । नागरिक समाज, भाषा–संस्कृति अभियन्ता तथा सरोकारवालाहरूले मैथिली भाषा कोशी प्रदेशको मौलिक पहिचान भएकाले राज्यले त्यसलाई उचित सम्मान र अधिकार दिनुपर्ने बताएका छन् ।
मिथिला टाइम्सको आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न कार्यक्रममा वक्ताहरूले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश भएकाले पहाडी र मधेसीबीच विभाजन होइन, सहअस्तित्व र समान अवसरको भावना मजबुत बनाउनुपर्नेमा जोड दिए । समावेशी लोकतन्त्रका लागि मधेसीबाट पहाडी उम्मेदवार र पहाडीबाट मधेसी उम्मेदवार स्वीकार गर्न सकिने वातावरण निर्माण आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रम मैथिली साहित्यक मञ्ज उदयपुरका अध्यक्ष रामभक्त यादवको अध्यक्षता तथा मैथिली भाषिक अभियन्ता एवं प्राध्यापक रामरिझन यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मैथिली भाषिक अभियन्ताहरू चन्देश्वर प्रसाद यादव, मिश्रीलाल महत्तो, राजकुमार शर्मा, श्यामकुमार भगत, विश्वनाथ प्रसाद शाह, राममणी पोखरेल, राजकुमार राई, विनोद खड्का, पत्रकार गजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।