



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा नदी किनार क्षेत्रमा शुक्रबारदेखि दोस्रो उदयपुर एक्सपो महोत्सव २०८२ सञ्चालन हुने भएको छ ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल शाहले महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार महोत्सवको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने कार्यक्रम तय भएको छ ।
“कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार—उदयपुरको पहिचान, समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सव १६ दिनसम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्देश्य उदयपुर जिल्ला र कोशी प्रदेशका कृषि, उद्योग, व्यवसाय तथा उद्यमशीलतासँग सम्बन्धित उत्पादनलाई एउटै स्थानमा प्रदर्शन गर्दै प्रवर्धन र बजारीकरण गर्नु रहेको महासचिव शाहले बताए ।
कार्यक्रमस्थलमा करिब १६० वटा स्टलहरू निर्माण गरिएको छ । दर्शक आकर्षणका लागि ताजमहल र लन्डन ब्रिजको नमुना निर्माण गरी सेल्फी जोनको व्यवस्था गरिएको छ । साथै, मनोरञ्जनात्मक गतिविधिअन्तर्गत जलपरि टनेल पनि राखिने जानकारी आयोजकले दिएको छ ।
महोत्सवको आयोजना जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले गरेको हो । प्रवेश शुल्क सर्वसाधारणका लागि १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ ।