



काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनका निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार आज बिहान दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा उनको हृदयघातका कारण निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै निवासमा अचानक हृदयघात भयो,’ घतानीले बताए ।
इन्डियन आइडलको उपाधि जितेपछि नेपालमा अपार लोकप्रियता कमाएका तामाङका दर्जनौँ नेपाली गीत चर्चित छन् । ४३ वर्षको उमेरमा संसारबाट विदा भएका उनले गायनसँगै नेपाली फिल्ममा अभिनय र पाश्र्वगायनमार्फत उल्लेखनीय योगदान दिएका थिए ।
नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरे । ‘हिम्मत २’ बाट पहिलो पटक पाश्र्वगायन गरेका तामाङले ‘अँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ भाग १ र २ जस्ता फिल्ममा अभिनय गरे । ‘दिल’, ‘अनमोल छन्’ र ‘हिम्मत २’ मा उनले स्वर दिएका छन् ।
बलिउडतर्फ पनि कदम बढाएका तामाङले सलमान खान स्टारर ‘ब्याटल अफ गलवान’ बाट डेब्यू गरेका थिए । फिल्मको छायांकन सकिएको थियो र उनी डबिङको तयारीमा थिए । भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् । कलाकारितामा आउनुअघि उनले केही समय कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा पनि सेवा गरेका थिए ।
सन् २००७ मा ‘धन्यवाद’ एल्बममार्फत सांगीतिक यात्रा थालेका तामाङका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ अत्यन्त लोकप्रिय गीत हुन् । उनले चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए । उनको निधनको खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा श्रद्धाञ्जली र समवेदनाका सन्देशहरू ओइरिन थालेका छन् । नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ ।