चिसो बढेसँगै त्रियुगा–१६ द्धारा लक्षित समुदायलाई न्यानो सिरक सहयोग

चिलाउने । अत्यधिक जाडो बढ्दै गएपछि त्रियुगा नगरपालिका वडा नं १६ ले वडाभित्रका विपन्न दलित, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत दलित, अपाङ्ग तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत वडागत बजेट प्रयोग गरी सहयोग प्रदान गरिएको हो ।

वडा अध्यक्ष मानबहादुर राईका अनुसार वडाभित्र रहेका आर्थिक रूपमा कमजोर ३६ जना दलित तथा अपाङ्ग परिवार र ३६ जना जेष्ठ नागरिक गरी कुल ७२ परिवारलाई सिरक वितरण गरिएको छ । “वडाले हरेक वर्ष लक्षित समुदायको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग गर्दै आएको छ,” अध्यक्ष राईले बताए ।

प्रतिबन्धित चिसो मौसमका बीच आयोजना गरिएको वितरण कार्यक्रममा सिरक पाएपछि लाभग्राही परिवारहरू उत्साहित देखिएका थिए । चिसोका कारण दैनिक जीवन कष्टकर बनेको अवस्थामा वडाबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको उनीहरूको भनाइ छ ।

दलित महिला मसली परियारले राज्यको दायित्वलाई स्थानीय तहले व्यवहारमा उतारेको बताउँदै यस्ता कार्यक्रमले आफूजस्ता जेष्ठ नागरिक र विपन्न परिवारलाई प्रत्यक्ष राहत मिल्ने बताइन् । त्यसैगरी एकल महिला प्यारी माया तामाङले संकटको समयमा वडा सरकार नजिकको सरकार भएको अनुभूति गराएको प्रतिक्रिया दिइन् । जेष्ठ नागरिक ललितबहादुर तामाङले आम्दानीको स्रोत नहुँदा न्यानो कपडा किन्न कठिन भएको अवस्थामा वडाको सहयोग प्रशंसनीय रहेको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सदस्य गोमा कार्कीले स्थानीय तहबाट सञ्चालन हुने यस्ता जनमुखी कार्यक्रमले लक्षित समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताइन् ।

सिरक वितरण कार्यक्रममा कार्यपालिका सदस्य कुन्ती परियार, वडा सदस्य घमान सिंह राई, रामनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यवाहक वडा सचिव विष्णुबहादुर तामाङले गरेका थिए । वडा कार्यालयले अघिल्लो वर्ष समेत दलित लक्षित कार्यक्रमअन्तर्गत परम्परागत आरन मेसिन वितरण गरेको स्मरण गराइएको छ ।

Facebook Comments