



उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँ बस्ने ४० वर्षीय राजकुमार रायमाझीलाई ५ दिनको म्याद लिएर थप अनुसन्धान शुरू गरिने भएको छ । उनलाई बिहिबार जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिएपछि अनुसन्धान अघि बढाइएको हो ।
रायमाझीलाई एक महिलामाथि बलात्कार प्रयास गरेको उजुरीका आधारमा मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
डिएसपी दोङका अनुसार इलाका प्रहरी कार्यालय रौतामाई भुट्टारले उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक प्रक्रिया पूरा गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि रायमाझीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर पठाइएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी दोङका अनुसार पीडित पक्षले दिएको उजुरी तथा घटनासम्बन्धी प्रारम्भिक आधारहरूमा जिल्ला अदालत उदयपुरबाट रायमाझीमाथि ५ दिनको म्याद लिएर विस्तृत अनुसन्धान सुरू गरिएको हो । अपराध प्रमाणित भए जवरजस्ती करणी प्रयाससम्बन्धी कानुनअनुसार रायमाझीमाथि कैद, जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीको भनाइ छ।