माओवादी र समाजवादीबीचको एकता घोषणा कात्तिक २० गते हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलहरूबीचको बहुपक्षीय एकता घोषणा कार्यक्रम आगामी कात्तिक २० गते गर्ने तयारी भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले उक्त मितिमा काठमाडौंमा औपचारिक एकता घोषणा गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार माओवादी केन्द्रका साथै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट अलग भएका चिरन पुन (मिलन सी) नेतृत्वको समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता घोषणा हुने भएको हो ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राखिने सहमति भएको छ। नयाँ दलले राजनीतिक सिद्धान्तका रूपमा ‘मार्क्सवाद–लेनिनवाद’ लाई मुख्य आधार बनाउने र ‘माओवाद’ शब्द हटाइने निर्णय पनि गरिएको स्रोतले जनाएको छ ।

बैठकमा एकतापछि हुने संगठनात्मक संरचना, नेतृत्व संयोजन र नीति दिशाबारे प्रारम्भिक छलफल भएको र अन्तिम टुंगो आगामी केही दिनभित्र लगाइने बताइएको छ ।

Facebook Comments