



काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । साम्पाङ आफैं आयोगमा उपस्थित भई प्रमाणपत्र ग्रहण गरेका हुन् ।
पार्टीको चुनाव चिन्ह “माटो” तोकिएको छ, जसले मेहनत, आत्मसम्मान र स्वदेशप्रेमको प्रतीक जनाउने बताइएको छ । दल दर्तासँगै पार्टीले आफ्नो केन्द्रीय समिति र पदाधिकारीहरू पनि सार्वजनिक गरेको छ । पार्टीमा २८ जना केन्द्रीय सदस्य रहेका छन् भने पाँचजना शीर्ष पदाधिकारी यसप्रकार छन् —
-
अध्यक्ष: हर्कराज साम्पाङ राई
-
उपाध्यक्ष: देवराज लामा
-
महासचिव: आर्यन राई
-
कोषाध्यक्ष: समिता राई
-
प्रवक्ता: अरुण गुरुङ
पार्टीले जनाएअनुसार निकट भविष्यमा प्रदेश र जिल्ला तहमा संगठन विस्तार गर्ने तयारी भइरहेको छ । गत असोज १२ गते आइतबार, साम्पाङ स्वयं निर्वाचन आयोगमा उपस्थित भई दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगबाट आधिकारिकता पाएसँगै पार्टीले श्रमिक, युवा र कृषक वर्गलाई केन्द्रमा राखी स्वच्छ, पारदर्शी र जनमुखी राजनीति गर्ने प्रतिबद्धता जनाएको छ ।