



सुनसरी । इटहरी उपमहानगरपालिका–१२ मा सोमबार साँझ घरेलु विवादकै कारण २५ वर्षीया महिलाको ज्यान गएको छ ।खोटाङ ऐसलुखर्क गाउँपालिका–१ घर भई हाल इटहरीमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी श्रीमती अनिसा भट्टराईमाथि काठको बटम प्रहार गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब ८ बजे श्रीमानसँग विवाद बढेपछि दाहालले टाउको, नाक र कानमा पटक–पटक प्रहार गरेका थिए । गम्भीर घाइते भएकी भट्टराईलाई उद्धार गरी विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा राति ९:१० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।
इटहरी–१२ का पूर्व वडाध्यक्ष तथा स्थानीय हिरा दाहालका अनुसार करार जागिरका लागि ऐसलुखर्कमै बस्दै आएका श्रीमान करिब दुई महिना अगाडि मात्र दशैं मनाउन घर आएका थिए । यसबीच श्रीमतीले खनारस्थित आइसक्रिम पसलमा काम सुरु गरेको थाहा पाएपछि विवाद बढेको र झगडाको क्रममा घटनामा परिणत भएको उनको भनाइ छ ।
घटनापछि आरोपी दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल प्रहरी चौकी खनारबाट करिब १०० मिटर दक्षिणतर्फ रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।