संविधान र राष्ट्रपति संस्था जोगाउन भूमिका खेलें : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र राष्ट्रपति संस्थालाई खतराबाट जोगाउन आफूले निर्णायक सहजीकरण गरेको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओली पदच्युत भएपछि संविधान खारेज गर्ने र राष्ट्रपति हटाउनेसम्मको प्रयास भएको तर त्यसलाई रोक्न आफू सक्रिय भएको बताए ।

‘इतिहास र संयोगले मलाई यो प्रक्रियामा सहजीकरण गर्ने मौका दियो,’ प्रचण्डले भने, ‘रातभर राष्ट्रपति, प्रधानसेनापति र दलका नेताहरूसँग छलफल गरेर अन्तरिम सरकारतर्फ प्रक्रिया लैजान सहमति भयो, जसले संविधानलाई जोगायो ।’ उनले हालको संविधानलाई साधारण नभई विशेष दस्तावेज भन्दै यसलाई थप परिमार्जनसहित प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा उनले प्रधानसेनापतिको योगदानको प्रशंसा गर्दै राजनीतिक निकास निस्कन नसकेको भए मुलुक ठूलो संकटमा फस्ने अवस्थाबाट जोगिएको बताए । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनाबारे प्रचण्डले घुसपैठ भएको पनि टिप्पणी गरे ।

Facebook Comments