



उदयपुर । चौदण्डीगढी नगरपालिका–४ कालीखोलामा भइरहेको माटो उत्खननबारे राष्ट्रिय स्वतन्त्र पार्टी चौदण्डीगढी नगर समितिले आपत्ति जनाएको छ । पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै अवैध उत्खनन तत्काल रोक्न, जिम्मेवार निकायका अधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको हो ।
विज्ञप्तिअनुसार नेपालको संविधानका धारा ५७ को ४, धारा २१४ को २, धारा २२१ को २ र धारा २२६ को १ मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतको अधिकारको प्रयोग नगरी चुरे संरक्षण क्षेत्रभित्र माटो उत्खनन गरिएको पाइएको छ । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यविधि’ अनुसार जेठ ३१ देखि असोज १ गतेसम्म नदीजन्य पदार्थ उत्खनन, प्रयोग र बिक्री वितरण गर्न निषेध भए पनि उक्त समयावधिभित्रै उत्खनन भइरहेको उल्लेख गरिएको छ ।
नगर समितिका अनुसार मिति २०८२ असार ८ गतेदेखि भाद्र मसान्तसम्मलाई उत्खननको बन्द अवधि घोषणा गरिएको थियो । तर, उक्त अवधिमा समेत नगरपालिकाको नाममा पत्र निकालेर उत्खनन भएको र जिम्मेवार निकायले कानुन विपरीतको कार्यलाई रोक्ने पहल नगरेको दाबी गरिएको छ ।
विज्ञप्तिमा प्रहरीले पनि आर्थिक ऐन २०८१ को अनुसूची ११ बमोजिम कारबाही नगरी उत्खननकर्तालाई संरक्षण गरेको आरोप लगाइएको छ ।पार्टीले जनताको सरोकारका विषयमा पारदर्शिता अपनाउन, कानुनको पालना गर्न र गैरकानुनी उत्खनन रोक्न नगरपालिकालाई आग्रह गरेको छ । विज्ञप्तिमा रास्वपा नगर अध्यक्ष रमेश बिष्टको हस्ताक्षर रहेको छ ।
