



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब १२ः४० बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–५, धनकुटाका २२ वर्षीय रोजन परियार गम्भीर घाइते भएका थिए ।
शरीरका विभिन्न भागमा चोट लागेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारकै क्रममा दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका–१० निवासी २६ वर्षीय सोभितमान बस्नेत र दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।