



उदयपुर । उदयपुरका अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका काफ्लेको बुधबार बिहान गाईघाटस्थित आफ्नै निवासमा निधन भएको हो ।
करिब एक वर्षदेखि गम्भीर बिरामी भएर अचेत अवस्थामा रहेका काफ्ले उदयपुरमा पत्रकारिताको संस्थागत विकासका प्रारम्भिक अभियन्तामध्ये एक थिए । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको स्थापनाकालमै उनले महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
२०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा काफ्ले संस्थापक सचिव बनेका थिए । जिल्लामा पत्रकारिताको अभ्यास विस्तार हुँदै गरेको समयमै संगठन निर्माण र पत्रकारिताको विकासमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ प्रकाशन गर्दै पत्रकारिता गरेका थिए । स्थानीय स्तरका विषयवस्तु, घटना र जनसरोकारका सवाललाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउने उनको प्रयासले उदयपुरको पत्रकारिता विकासमा महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुर शाखाले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । महासंघले उनको निधनबाट सिद्धान्तनिष्ठ तथा व्यावसायिक पत्रकारका साथै संस्थाले एक सक्रिय अभिभावक गुमाएको जनाएको छ ।
महासंघ उदयपुर शाखाका सचिव तुलसीप्रसाद कोइरालाद्वारा जारी वक्तव्यमा काफ्लेको पत्रकारिता क्षेत्रमा रहेको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
काफ्लेका श्रीमती, दुई छोरा र दुई छोरी छन् । पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार नै त्रियुगा आर्यघाटमा गरिनेछ । काफ्लेको निधनसँगै उदयपुरले जिल्लामा पत्रकारिताको जग बसाल्ने प्रारम्भिक पुस्ताका एक अनुभवी पत्रकार गुमाएको छ । उनको योगदान उदयपुरको पत्रकारिता इतिहासमा स्मरणीय रहनेछ ।