१ सय ९९ केजी गाँजासहित टिपर चालक पक्राउ


उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोलाबाट प्रहरीले १९९ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले भदौ ८ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार टिपरमा बोरा राखी लैजाँदै गरिएको अवस्थामा १९९ केजी गाँजा फेला परेको थियो । प्रहरीले टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–४ बस्ने करिब २१ वर्षीय सोम मगरलाई टिपरसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मगरमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box