



खोटाङ । खोटेहाङ गाउँपालिका–३ साँवाकटहरे देउरालीका ५२ वर्षीय शंकर खड्का आन्द्रासम्बन्धी जटिल रोगबाट पीडित भएपछि उपचार खर्च जुटाउन समस्या परेको छ । दुईपटक शल्यक्रिया गरिसक्दा पनि स्वास्थ्यमा पूर्ण सुधार नआएपछि उनको परिवारले आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेको छ ।
परिवारका अनुसार पेट दुख्ने र खाना खाएपछि लगातार बान्ता हुने समस्या देखिएपछि खड्कालाई गत जेठ ४ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहमा जेठ ६ गते पहिलो शल्यक्रिया गरिएको भए पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि असार १९ गते पुनः दोस्रोपटक शल्यक्रिया गर्नुपरेको थियो ।
हालसम्म उपचारमा करिब ८ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ। यति ठूलो रकम खर्च हुँदा पनि उनको स्वास्थ्य अवस्था अझै जटिल रहेको बताइएको छ । खाना खाएको केही समयमै शल्यक्रिया गरिएको भागबाट पानीजस्तो तरल पदार्थ बाहिर निस्कने समस्या अझै कायम रहेको श्रीमती मैना खड्काले जानकारी दिइन् ।
लामो समयदेखि उपचाररत खड्का परिवारका मुख्य आर्थिक आधार भएकाले उनको स्वास्थ्य अवस्थासँगै परिवारको आर्थिक अवस्था पनि कमजोर बन्दै गएको छ । परिवारमा श्रीमती, दुई छोरा, एक छोरी तथा वृद्ध आमाबुबा रहेका छन् ।
आर्थिक अभावका कारण थप उपचारलाई निरन्तरता दिन कठिनाइ भइरहेको भन्दै परिवारले स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभेच्छुक तथा साँवाकटहरेबाट विभिन्न स्थानमा बसोबास गरिरहेका सबै सहयोगी मनहरूसँग आर्थिक सहयोगको आग्रह गरेको छ ।
परिवारले सानो सहयोगले पनि शंकर खड्काको उपचारलाई निरन्तरता दिन र उनको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै मानवीय भावनाका साथ सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।