



गजेन्द्र राई
उदयपुर । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ उदयपुरका अध्यक्ष सुशील सेढाईले संस्थाको छाप र लेटरप्याड दुरुपयोग गरी लेखेको पत्र सार्वजनिक भएको छ । उनले २०८३ असार ६ गते डिभिजन वन कार्यालय गाईघाटलाई लेखेको पत्र सार्वजनिक भएको हो ।
अध्यक्ष सेढाईले कार्यसमितिमा कुनै छलफल तथा निर्णय नगरी एकलौटी रूपमा पत्र लेखेको भन्दै संघका महासचिव ढकबहादुर विष्ट, सचिव फडिन्द्रबहादुर के.सी. र कोषाध्यक्ष अच्युतनन्द चौधरीले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिँदै उनीहरूले जारी गरेको एक प्रेस विज्ञप्तिमा अध्यक्ष सेढाईले संस्थाको लेटरप्याड र छापको दुरुपयोग गर्दै आफूखुसी निर्णय गर्ने गरेको आरोप लगाएका थिए ।
महासचिव पदबाट राजीनामा दिएका विष्टका अनुसार अध्यक्ष सेढाईले आफू अनुकूल नभएका काठ व्यवसायीले प्राप्त गरेको टेण्डरविरुद्ध र आफू पक्षधर व्यवसायीको हितमा संस्थाको लेटरप्याड तथा छाप प्रयोग गर्दै आएको आरोप लगाए । सार्वजनिक भएको पत्रमा अध्यक्ष सेढाईले बेलका नगरपालिका–६ र ८ स्थित सिंगादेवी सामुदायिक वन उपभोक्ता समितिको गोलिया काठ लिलामसम्बन्धी टेण्डर रद्द गर्न माग गरेका छन् ।
उक्त टेण्डरमा मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अरुण सःमिलले टेण्डर दर्ता गर्न नपाएको उल्लेख गर्दै प्रक्रिया रद्द गर्न माग गरिएको पत्रमा देखिन्छ ।तर, टेण्डर प्रक्रिया सम्पन्न भएको आठ दिनपछि मात्र डिभिजन वन कार्यालय गाईघाटलाई उक्त पत्र पठाइएको पाइएको छ ।
सिंगादेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गान्धिप राईका अनुसार टेण्डर असार २९ गते खोलिएको थियो । उनले वन पैदावार उद्योग व्यवसायी संघका अध्यक्ष सेढाईले सामुदायिक वन विरुद्ध डिभिजन वन कार्यालयमा दिएको उजुरीबारे आफूलाई आधिकारिक जानकारी नभएको बताए ।
यता, अध्यक्ष सेढाईले पत्र लेख्नुको उद्देश्यबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । तर, उक्त घटनापछि स्थानीयस्तरमा टेण्डर प्रक्रियालाई लिएर विभिन्न आशंका व्यक्त हुन थालेका छन् । केही स्थानीयले यस विषयमा ठूलो आर्थिक चलखेल हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।
घटनाले नेपाल वन पैदावार उद्योग व्यवसायी संघ उदयपुरको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ । संस्थाको लेटरप्याड र छाप प्रयोगको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने आवाजसमेत उठ्न थालेको छ ।
