विद्यालयमा निःशुल्क पुस्तक र दिवा खाजा दुरुपयोग भएको भन्दै विव्यस अध्यक्ष र प्रअविरुद्ध उजुरी


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवास्थित श्री जनता आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल भट्टराई र प्रधानाध्यापक सुनिल झा प्रति असन्तुष्टि जनाउँदै एक विव्यस सदस्यले नगर शिक्षा शाखामा उजुरी दिएका छन् । उजुरी सो विद्यालय विव्यस सदस्य रेवती रमण अधिकारीले दिएका हुन् ।

उनले उजुरीमा विव्यस अध्यक्ष भट्टराई  र प्रधानाध्यापक झाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आवश्यक छानबिन तथा कानुनी कारबाहीको माग गरेका छन् । त्रियुगा नगर शिक्षा शाखामा मंगलबार उजुरी दर्ता गराउदै विद्यालयमा देखिएका विभिन्न अनियमितता, लापरबाही र गैरजिम्मेवार गतिविधिको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

निवेदनमा प्रधानाध्यापक झाले लापरबाहीपूर्ण ढंगले विद्यालय सञ्चालन गरेको, पठनपाठनको समयमा शिक्षकहरू नियमित रूपमा कक्षामा उपस्थित नभएको, नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने पाठ्यपुस्तक सबै विद्यार्थीलाई वितरण नदिएको साथै विद्यार्थीका लागि उपलब्ध गराइने दिवा खाजा शिक्षकहरूले नै खाने गरेको समेत आरोप लगाइएका छन् । निवेदक अधिकारीले उक्त गतिविधिको सबै भिडियो प्रमाणहरु आफूसँग रहेको उल्लेख गर्दै विव्यस अध्यक्ष भट्टराई र प्रधानाध्यापक झालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुधार नभएको दाबी गरेका छन् ।

निवेदनमा भनिएको छ, “विद्यालयमा भएका सम्पूर्ण गतिविधिको निष्पक्ष छानबिन गरी विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यालय समयमा कक्षामा अनुपस्थित रहने शिक्षक र जिम्मेवार पदाधिकारीमाथि आवश्यक कानुनी कारबाही गरियोस् ।” उक्त निवेदन शिक्षा शाखामा दर्ता भएसँगै सम्बन्धित विषयमा आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

यस विषयमा त्रियुगा नगरपालिकाको शिक्षा शाखा प्रमुख शिबमाया राउतले उजुरी शाखामा दर्ता भएको पुष्टि गरेका छन् । प्रमुख राउतका अनुसार निवेदन दर्ता भइसकेको र आवश्यक प्रक्रिया तथा छानबिन अगाडि बढाइनेछ । यता, विद्यालयका विव्यस अध्यक्ष भट्टराई र प्रधानाध्यापक झासँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म उहाँहरूसँग सम्पर्क हुन सकेन ।

Facebook Comments Box