उदयपुर प्रहरीद्वारा सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ


उदयपुर । उदयपुरमा सुनका गहना सफा गर्ने बहानामा स्थानीय महिलालाई ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उदयपुरगढी गाउँपालिका–उदयपुरबाट २ र ३ का स्थानीय महिलाहरू पेशलकुमारी मगर र मनमाया तामाङले लगाएका सुनका गहना सफा गरिदिने भन्दै सुनको मात्रा घटाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार प्रहरी चौकी उदयपुरगढीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूले स्थानीय महिलाले कानमा लगाएका करिब एक–एक तोला बराबरका सुनका बेरुवा रिङ विभिन्न रासायनिक पदार्थ (केमिकल) प्रयोग गरी सफा गर्ने बहानामा सुनको मात्रा घटाई ठगी गरेको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत (विहान थाना) निवासी करिब २८ वर्षीय गोबिन्द कुमार साह र सोही राज्यको मधेपुरा जिल्ला, रहता ग्राम पञ्चायत (कुमार थाना) निवासी करिब ३३ वर्षीय सचिन साह रहेका छन् । प्रहरीले ठगी कार्यमा संलग्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box