त्रियुगा नगरपालिकाको बजेट १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार, कृषि र विकासलाई प्राथमिकता

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभा तथा १७ औँ अधिवेशनमा नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नगरप्रमुख बस्नेतले बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ योजना, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, दिगो विकास लक्ष्य तथा संघ र प्रदेश सरकारले जारी गरेका नीति, कानुन र मापदण्डलाई आधार बनाइएको बताउनुभयो । उपप्रमुख महेश्वरी राईले प्रस्तुत गर्नुभएको बजेट अनुसार नगरपालिकाको कुल अनुमानित आय १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

जसअन्तर्गत आन्तरिक स्रोतबाट १६ करोड ५० लाख ६५ हजार, राजस्व बाँडफाँटबाट २३ करोड ४६ लाख ६१ हजार २ सय ३८, प्रदेश सरकारको चालुतर्फको सशर्त अनुदानबाट ५ करोड ४६ लाख २४ हजार तथा पुँजीगत समानीकरण अनुदानबाट २ करोड ३ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी संघीय सरकारबाट ८५ करोड ८१ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । मूल्य अभिवृद्धि करबाट १५ करोड १० लाख ९६ हजार, अन्तःशुल्कबाट ६ करोड ४७ लाख ५६ हजार, सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २ सय ३८ तथा चालु आर्थिक वर्षको मौज्दात ५ करोड ४९ लाख ८८ हजार ७ सय ६२ रुपैयाँसमेत समेटेर कुल बजेट प्रस्तुत गरिएको हो ।

नगरप्रमुख बस्नेतले आर्थिक विकासतर्फ कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै कृषि विकास रणनीतिक योजनाअनुसार नगर कृषि विकासका कार्यक्रम तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि, पूर्वाधार विकास, सेवा प्रवाह सुधार, रोजगार सिर्जना तथा समग्र नगरको दिगो विकासलाई प्राथमिकतामा राखेको छ । नगरसभा तथा १७ औँ अधिवेशनमा नगरका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Facebook Comments Box