उदयपुरमा स्कुल बस दुर्घटना, एकको मृत्यु, ३० जना घाइते, दुईको अवस्था गम्भीर


उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित सडकमा शनिबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलका कर्मचारी बोकेको बा २ ख ६४३८ नम्बरको बस बिहान करिब ८ः५० बजे अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खस्दा दुर्घटना भएको हो । स्थानीयवासीबाट सूचना प्राप्त हुनासाथ संगमचोकस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्‍याएको थियो। उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले बिहान ९ः५० बजे मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी महोत्तरी गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य २८ जना घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। घाइतेहरू महोत्तरी र सिराहा जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेका छन् । उनीहरूमा महिला, पुरुष तथा बालबालिका समेत रहेका छन् ।

बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यस्तै, दुर्घटनामा सवार महोत्तरीको औरही नगरपालिका निवासी २५ वर्षीया रामतोला देवी मण्डल र १४ वर्षीया प्रिति यादव सकुशल रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box