पहुँचवालालाई कार्यकक्ष प्रवेश, सर्वसाधारणलाई रोक : नापी कार्यालय उदयपुरमा विभेदको गुनासो

उदयपुर । नापी कार्यालय उदयपुरले सेवाग्राहीहरूलाई पद–प्रतिष्ठा र पहुँचका आधारमा फरक व्यवहार गर्दै आएको गुनासो सार्वजनिक भएको छ । कार्यालयमा सर्वसाधारण सेवाग्राहीलाई कर्मचारी कार्यकक्षमा प्रवेश गर्न नदिइने भए पनि पहुँच भएका बिचौलिया तथा कर्मचारीका निकट व्यक्तिहरू भने सहजै कार्यकक्षसम्म पुग्ने गरेको पाइएको छ ।

केही समयअघि कार्यालयले बिचौलियाको नाममा सर्वसाधारणलाई कार्यकक्षबाट बाहिर निकाल्ने अभियान चलाएको थियो । तर पछिल्लो समय भने सोही कार्यकक्षमा पहुँचवालाहरूको आवतजावत बढेको भन्दै सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

एक पीडित सेवाग्राही दुर्गा कार्कीका अनुसार कर्मचारीहरूले केही कामका लागि अनाधिकृत रूपमा रकमसमेत माग्ने गरेको आरोप लगाएका छन् । “हामीलाई बाहिरै लाइनमा बस्न लगाइन्छ, तर चिनजान भएका व्यक्तिहरू सिधै कर्मचारीको कोठाभित्र पुगेर काम गराउँछन्। कतिपय अवस्थामा अतिरिक्त रकमसमेत दिनुपर्ने अवस्था सिर्जना हुन्छ,” उनले भने ।

यस विषयमा नापी कार्यालय उदयपुरका प्रमुख चन्दन प्रसाद दास ले सम्बन्धित व्यक्तिहरूलाई कामको प्रकृतिअनुसार कर्मचारी कार्यकक्षमा बोलाएर सेवा दिने गरिएको बताए । विशेषगरी जग्गा कित्ताकाट लगायतका प्राविधिक काममा त्रुटि नहोस् भन्ने उद्देश्यले सम्बन्धित व्यक्तिलाई कर्मचारीसँग प्रत्यक्ष समन्वय गराउने गरिएको उनको भनाइ छ ।

“काममा गल्ती नहोस् र आवश्यक विवरण स्पष्ट होस् भनेर सम्बन्धित व्यक्तिलाई कार्यकक्षमा बोलाउने गरिएको हो,” प्रमुख दासले भने । यद्यपि, सर्वसाधारण सेवाग्राहीलाई प्रवेश निषेध गरिने तर सीमित व्यक्तिलाई मात्र कार्यकक्षमा प्रवेश दिइने अभ्यासले कार्यालयमा विभेद भएको भन्दै सेवाग्राहीहरूले सबैलाई समान व्यवहार र पारदर्शी सेवा प्रवाहको माग गरेका छन् ।

Facebook Comments Box