



काठमाडौँ । कराँते खेलाडी सन्तोष राईलाई अमेरिकाको न्युयोर्कमा सम्मान गरिएको छ । किरात राई सोसाइटी अफ अमेरिकाले साकेला उँधौली पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा राईलाई नगद तीन लाख रुपैयाँ तथा प्रशंसापत्रसहित विशेष सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन दुई साताअघि अमेरिका पुगेका राईलाई उक्त सम्मान गरिएको हो ।
न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले राईलाई सम्मानपत्र तथा नगद हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्दै अमेरिकामा नेपालका लागि गौरवपूर्ण उपलब्धि हासिल गरेकोमा राईलाई बधाई दिनुभयो ।
कार्यक्रममा आयोजकका तर्फबाट भारती राईले देशको प्रतिष्ठा बढाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै सन्तोष राईले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राईले अमेरिकाको डल्लासमा आयोजित २७औँ हिराल्डोज काइ सोतोकान अन्तर्राष्ट्रिय च्याम्पियनसिप–२०२६ मा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताको काता विधातर्फ अमेरिकाका प्रतिस्पर्धी चार्ल्स जार्डनलाई पराजित गर्दै स्वर्ण पदक जितेका राईले कुमिते विधातर्फ अमेरिकाकै नाथानिया जेआरसँग प्रतिस्पर्धा गर्दै रजत पदक हात पारेका थिए ।
विश्वस्तरीय मानिने उक्त प्रतियोगिता प्रत्येक वर्ष अमेरिकामा आयोजना हुँदै आएको छ, जसमा विश्वभरका उत्कृष्ट कराँते खेलाडीहरूको सहभागिता रहने गर्दछ । यस वर्ष नेपालका तर्फबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी राईले सहभागिता जनाएका थिए ।
