



त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिकामा उचित फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएको छ । बिशेषगरि नगरपालिकाको मुख्य बजारको रुपमा रहेको त्रियुगा ११ गाईघाट बजार आसपासको क्षेत्रहरुमा उचित फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिन थालेको हो ।
सो बजार क्षेत्रहरुमा स्थानीयहरुले संकलन गरेर राखेको फोहोर व्यवस्थापनको लागि नगरपालिकाले चासो नदेखाएको स्थानीय मनदिप राईले बताए । स्थानीय राईका अनुसार हाल बजार क्षेत्रमा राखिएको डसपिन भरिएर फोहोरहरु सडकमा छताछुल्ल भएको छ ।
सदरमुकामको मुख्य बजार समेत रहेको गाईघाट बजारमा रहेको फोहोर व्यवस्थापनको लागि नगरपालिकाले कुनै पनि सवारी साधनहरु नपठाएको स्थानीय राजेन्द्र चौधरीले बताए । नगरपालिकाले तत्कालै फोहोर व्यवस्थापन गर्न नसके दुर्गन्धले चरम सिमा नाघ्ने उनको बुझाई छ ।
हाल उक्त फोहोर व्यवस्थापनको लागि अन्य कुनैपनि संघसंस्थाहरुले चासो देखाउन नसकेको समेत स्थानीयहरुको बुझाई छ । फोहोरको थुप्रोहरु पिजी चोक, पुरानो तरकारी बजार, मेन चोक, बिद्युतमार्ग, टेम्पु चोक, बैक रोड, पिपल चोक, हिमाली टोल, बाबारानी मार्ग लगायतका बजारमा रहेको सडकको दायाँबायाँ रहेको छ ।
फोटोहरुः