काठमाडौं । पहिरोमा आफू मरेर यात्रु जोगाउने बस चालकलाई सरकारले सम्मान गर्ने भएका छन् । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको हो ।
गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए । उनका अनुसार विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको छ । मरणोपरान्त कस्तो सम्मान, कति राहत भन्ने कुरा भने खुल्न बाकी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अर्का एक अधिकारीका अनुसार ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो । बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए ।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले चलाएको बसमा करिब ३० जना यात्रु थिए । उनीहरू सबै जोगिए । सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।
दुईवटा बसमा ६५ यात्रु रहेकामा तीनजना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था हालसम्म अज्ञात छ ।
भिडियोः