जबर्जस्ती जग्गा कब्जा गरेको आरोपमा बोर्डिङ सञ्चालक बिरुद्ध उजुरी

उदयपुर । उदयपुरमा एक बोर्डिङ सञ्चालक बिरुद्ध जबर्जस्ती जग्गा कब्जा गरेको आरोपमा उजुरी परेको छ । उजुरी त्रियुगा नगरपालिका १० बोक्से बस्ने अशोक खड्का बिरुद्ध परेको हो ।

खड्का स्थानीय त्रियुगा लिटर्स फ्लावर्स बोर्डिङ स्कुल सञ्चालन हुन् । उनलाई बोर्डिङको उत्तर सिमानामा जोडिएको भुमरसुवा ४/क कित्ता नम्बर ९१४ र कित्ता नम्बर ९१६ मा रहेको पन्ध्र धुर जग्गा कब्जा गरेको आरोप छ ।

खड्का बिरुद्ध खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुईपा बस्ने जग्गाधनी अमृतकुमार राईले उजुरी दिएका हुन् । पीडित राईले आईतवार आफ्नो जग्गा भोगचलन गरिपाउ भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा उजुरी दिएका हुन् ।

उजुरी पश्चात् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई निर्देशन गरेका छन् । जग्गा भोगचलन सहयोगको लागि त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से र बरगाछी टोलसुधार समितिमा समेत उजुरी दिएका छन् ।

उजुरीमा पूर्वसहमति अनुसार जग्गा खाली गरिदिनु भन्दा निज तथा निजको परिवारका मानिसहरु हुलमद्दत गरेको उल्लेख छ । उजुरीमै समाजले गरेको कुरालाई समेत वास्तावेस्ता नगरी म निवेदकलाई हेपाहा तरिकाले म जग्गा खाली गर्दिन, के गर्न सक्छस गर, जहाँ जान्छस जा भनी अशान्ति गरी धाकधम्की दिदैआएको समेत उल्लेख गरिएको छ ।

उक्त बिषयलाई लिएर पटकपटक छलफल भएको स्थानीय फिरन खड्काले बताए । स्थानीय खड्काका अनुसार बोर्डिङ सञ्चालन खड्का जिम्मेवार नभएको बताए । यस बिषयमा बोर्डिङ सञ्चालन खड्काले आफुलाई लगाएको आरोप निराधार र कपोकल्पित रहेको बताए ।

उनलेे जबर्जस्ती जग्गा कब्जा गरेको आरोप ठाडै अस्वीकार गरेका छन् । खड्काले सञ्चालन गर्दै आएको बोर्डिङ समय समयमा विवादमा पर्दै आएको छ । विवाद शिक्षकद्वारा महिला बिद्यार्थीलाई गरिने असभ्य व्यवहारदेखि बिद्यार्थी महंगो शुल्कसम्मको छ ।

Facebook Comments