उदयपुरमा लकडाउन खुकुलो

उदयपुर । लकडाउनका कारण सर्वसाधरणको दैनिकी असहज बन्दै गएको गुनासो बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्ला भित्र लकडाउनलाई केहि खुकुलो बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठ्न थालेपछि लकडाउनलाई केहि सहज बनाइएको हो ।

पछिल्लो पटक गत २ गते एकजना पत्रकारमा संक्रमण देखिएयता नयाँ संक्रमित नदेखिएपछि लकडाउनलाई केहि खुकुलो बनाइएको हो । संक्रमित नथपिएपछि स्थानीयले सदरमुकामका पसल खोल्नुका साथै चहलपहल बढाउन र सवारी आवागमन बढाएपछि प्रसासनले कडाई गर्न थालेको थियो ।

प्रशासनले शुक्रबारबाट विहान ६ देखि ११ बजेसम्म सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य बस्तुका पसलहरु खोल्न दिएको छ । नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तु, जुत्ताचप्पल, कपडा पसल, हार्डवेयरका पसल खोल्न दिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

विकास निर्माणका कामहरु धमाधम भईरहेकाले हार्डवयर पसललाईसमेत खोल्नु अनुमति दिइएको उनको भनाई छ । सर्बसाधारणले आफुलाई आवश्यक पर्ने कुराहरु विहान ११ बजेसम्ममा खरिदगरी सक्नु पर्ने र ब्यापारीहरुले तोकिएकै समयमा कारोवार गरेर बन्द गर्नुपर्ने गरी बजार खोलिएको उनको भनाई छ ।

व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग जस्ता कुराको व्यवस्थापन त्रियुगा उद्योग वाणिज्य संघले गर्ने र लकडाउनको पालना भए नभएको, बजारमा कोरोनाप्रतिको सतर्कता अपनाए, नअपनाएको बारेमा नागरिक समाज, जनप्रतिनिधि र प्रशासनले अनुगमन गर्ने गरी सूचारु गरिएको प्रजिअ पहाडीले बताए ।

लकडाउनको अवज्ञा नदेखिने गरी नागरिकहरुको जनजीविकालाई केही सजह बजाउन र ब्यापारीहरुको मागसमेतलाई सम्बोधन गर्न यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए । भिडभाड नहुने अपेक्षासहित निश्चित समय तोकेर सातैबार पसल खुलाउने निर्णय भएकोे उनले बताए ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सर्बसाधारणको जनजीविकालाई केही सहज बनाउने उद्देश्यले बजार केही खुकुलो पारिएको बताए । उनले दैनिक ज्यालादारी मजदुर, व्यापारी र सर्वसाधरणको वृहत्तर हितलाई मध्यनजर गरी यस्तो निर्णय गर्न बाध्य भएको बताए ।

निरन्तर लकडाउनले एकातिर गरिव तथा श्रमिक मजदुरले भोकभोकै बस्नुपर्ने अवस्था आईलागेको र अर्कातिर व्यापार व्यवसाय चौपट पारेको गुनासो बढ्दै गएको स्थानीयले गुनासो गर्दै आएका थिए । स्थानीय सरकारले दुई चरणमासम्म राहत वितरण गरेपछि थप राहात विरतण गर्ने स्रोत नभएको बताईरहदा विपन्न बर्ग र मजदुर सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाउदै लगेको भन्दै लकडाउन खुकुलो पार्न स्थानीयले आग्रह गर्दै आएका थिए ।

वैशाख ५ देखि जेठ २ गतेसम्ममा त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १६ जमातिसहित ३२ तथा एक पत्रकार गरी ३३ जनामा कोरोना संक्रमण पाइएपछि ‘सिल’ गरिएको भुल्केमा सातादिनयता आउजाउ सहज बनाइएको छ । भुल्के खुलेलगत्तै गाईघाटमा एक्कासी चहलपहल बढ्न थालेपछि प्रशासनले कडाई गरेको थियो ।

Facebook Comments