उदयपुरकाे भुल्केका २८ संक्रमित मध्ये ६ जना डिस्चार्ज

उदयपुर । उदयपुरका ६ संक्रमित २० दिनपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको छ । पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १२ मध्ये ६ जनाको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको हो ।

शुक्रबार, सोमबार र मंगलबारको रिपोर्टमा लगातार ६ जनामा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई २० दिनपछि बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोशी कोरोना विशेष अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएको हो ।

कोरोनामुक्त भएकाहरुमा ३० वर्षिय अनुस जैदी, २९ वर्षिय मोहम्मद अजिज, २८ वर्षिय मोहम्मद जावेद, २१ वर्षिय मोहम्मद अहमद साहेव, ३४ वर्षिय मोहम्मद अजिरवान र २६ वर्षिय मोहम्मद राशिद रहेका छन् । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा विभाग प्रमुख सुरेश महतोले जानकारी दिए ।

कोशी अस्पतालको आइसोलेशनमा उपचार भईरहेका उदयपुरका २८ जनामध्ये ६ जना कोरोनामुक्त भएका छन् । साथै झापाका दुई र भोजपुरका एक जना समेत उक्त अस्पतालको आइसोलेशन कक्षमा उपचार भईरहेको छ । उनीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Facebook Comments