नयाँ वर्षमा रौता यात्रा……..(यात्रा सस्मरण)

  • जीवन आरोही
    बिहानै उदाउने सुर्यले दिनको संकेत गरे जसरी वर्षको प्रथम दिन ब्यतित गरिने दिनले आउँदो समय र दिनहरुको निर्धारण गर्छ र बर्ष भरि उसैगरि दिनहरु बित्छ भन्ने अनौठो मान्यता र विश्वास छ हामीमा । यस कारण पनि हो, दिनको प्रथम प्रहर, महिनाको प्रथम दिन वा वर्षका सुरुवाती दिनहरु खुसी हुनु पर्छ, उमंग हुनु पर्छ वा यादगार हुनु पर्छ भन्ने लाग्छ हामीलाई ।

    बिगत भइसकेको पलहरुलाई बिर्सेर आउने दिनहरु यादगार र उमंगमय होस भनेर यसपालीको नयाँ वर्षमा गोठकृष्ण जीसँग वर्षको प्रथम दिन बैशाख १ गते आफ्नै गृह जिल्लाको अग्लो भुगोलहरु रौता मेला जाने र उसै उसै लिम्चुङबुङको भैचुङडाँडा जाने ५ दिनको योजना बनाएका थियौँ । रौता, जो पर्यटक सगै धार्मिक स्थल पनि हो यो जिल्लाको । लिम्चुङबुङमा भने पर्यटन प्रवर्दन गर्ने उद्देश्यले त्यहाँका स्थानीय कार्यपालकाको आयोजनामा साँगीतिक, साँस्कृतिक तथा खेलकुदको आयोजना सँगै कविता गोष्टीको कार्यक्रम पनि रहेको थियो ।

    जसको कारणले पनि हो, नयाँ वर्षको यात्रा यादगार र महत्वको हुन्छ भन्ने लागेको मलाई । १ गतेको अघिल्लो दिन बेलुका गोठकृष्ण जीलाई फोन गरेँ । उहाँको मोवाइलमा फोन लागेन । पछि उठाउनु भएन । पछि साथी गजेन्द्र जीसँग तत्काल यात्राको योजना बन्यो, र हामी नागबेली सडक हुँदै रौता गयौँ । विशेषत रौतासँग पुरानो सम्वन्ध छ मेरो । सम्झनायोग्य बनेर बिगतमा ब्यतित गरेका नयाँ बर्षका यात्राहरुको । हिँडेको अढाई घण्टा मै रौता पुग्यौँ । सडक र यातायातको साधनले कति सरल बनाउँदो रहेछ सफर । बिगतमा मिर्मिरे उज्यालोमा यात्रा तय गरेर हिँड्दा पनि साँझ पख मात्र पुग्थ्यौँ ।आहाँ रौता ! भुईकुहिरोले छपक्क छोपेको थियो । सफेद आँचलले छोपेको काल्पनिक परी जस्तो । जसले हरियो गुन्युचोली पहिरिएर पर्खिरहेको होस आगन्तुक पाहुनाहरुलाई । जो हामी पाहुना बनेर गएका थियौँ । सिर्फ नयाँ वर्ष १ गतेको लागि । रौता पुगेर रबिन्द्र जी, महेन्द्र सरसँग भेट भएर खाना खायौँ । बजार घुम्यौँ । तर यस पल्ट टाढैबाट मन्दिर र पोखरी नियाल्यौँ । मांसाहारी भोजन गरिसकेको कारणले मन्दिर पनि पसेनौँ, पोखरीको पानी पनि छोएनौँ । मन्दिर प्रवेश नगरे पछि पुजा गर्ने कुरै भएन ।

    बरु पोखरीको किनारमा मेगेन्द्र जी, जीतन जी, बहिनी श्रेयाहरु हरुसँग भेट भयो । बहिनी श्रेयाले ‘घरबाट तीनपाने ल्याको छ, खाने दाई ?’ भनेर सोधिन । मुख रसायो । तर नयाँ वर्ष सरावमुक्त बनाउने भनेका थियौँ हामीले । यस कारण पनि ‘भो’ भनेँ मैले । त्यतिबेला गजेन्द्र जीको ईच्छा, रहर अर्कै थियो । त्यसैले पनि उनले झन पीउछु भन्ने कुरै भएन । समय मध्यदिन भन्दा पछाडी धकेलिदै गईरहेको थियो । निगाले र चिस्पा गाउँबाट दुई हुल साकेला सिली समुह साकेला नाच्न सेउली हल्लाउँदै आईपुग्यो । रसुवाबाट मेरा दौतरी साथीहरु बबि, झलकहरु पनि आएका थिए ।

    तिनै साथीहरुसँग दुई वटै समुहमा मिसिएर धित मरुन्जेल ढोल बजायौँ । साकेला समुहमा एकजना नछुङ थिए । तिनको भनाई अनुसार त्यहा दुईवटा पोखरी छन्, जो कमै भक्तालु, तिर्थालु हरुलाई थाहा छ । माथिल्लो पुजाआजा हुने मुख्य रौता पोखरी र तल्लो भैरुङ पोखरी । ती धामीको भनाई अनुसार तल्लो भैरुङ पोखरीलाई किराँती चलन अनुसारको नाचगान गरेर पुजाआजा गर्नु पर्ने । नाच्दा नाच्दै सेउली उठाए सिलीमोप्पाले । किनार लागेँ मँ भीडबाट । बजारमा ठाँटबाट सहित आएका पालिकाका केही प्रतिनिधीहरुसँग भेट भयो । सम्वादको क्रममा थाहा भयो ।

    निरीक्षण र अनुगमनको लागि आएका रहेछन् केही कार्यकर्ताहरुको समुह लिएर । छिमेकी पालिका लिम्चुङबुङले बस्ति र पुर्वाधार बिहिन डाँडामा महोत्सव गर्ने र पर्यटन प्रवर्दन गरी स्थानीयतालाई राष्ट्रियकरण गर्ने महत्वकांक्षी कार्यको थालनी गरिसक्यो । यो रौता कार्यपालिका आफै लागेका मेलाको अनुगमन गर्न ठाटबाट र कार्यकर्ताको समुह लिएर बजार निस्किएको छ । हुनत प्रगति गर्न नसक्ने, नजान्ने वा नचाहाने राज्यले गर्न सक्ने भनेकै अनुगमन हो । निरीक्षण र अनुगमनको नाममा नियम र कानुनको त्रासदी देखाएर निमुखाहरुको पसिना हत्याउने हो ।

    आफुले कामको सिन्को भाँच्न नसक्ने गवारहरुले भाँच्ने भनेकै निमुखाहरुको पसिनाको मेरुदण्ड हो । पालिकाका अनुगमनकर्ताहरुसँग सामान्य औपचारिक बोलचाल पछि छुट्टियौँ हामी । घाम अस्ताउँदै थियो र बिस्तारै उज्यालो ढल्दैथियो मलिन बनेर । सँगसगै चल्दै थियो सिरसिरे बतास । अहो…! कस्तो नमिठो बनेर बिगतको यादले छोप्यो मलाई । निकै वर्ष पहिले यहि भुगोलको ठेगानामा साहित्यीक यात्रा गरेका थियौँ आकाशगंगा साहित्यीक मंचको ब्यानरमा ।

    जाँगरिलो रहरहरु थिए । रौताको भीर टाकुरामा फुलेका गुराँस जस्तो रातो ईच्छा, रातो चाहना, रातो स्वीकृति र गुराँसकै फूल जस्तै रातो बिगत । अमिलो भयो मन । मन अमिलो भए पछि नाक पिरो हुँदो रहेछ । थचक्क बसेँ भुईमा । प्राप्तीको आकांक्षा फैलिएर खुसीहरु खोज्दा खोज्दै दुखी बन्न पुग्दो रहेछौँ हामी । अवसरको धुरी चढ्न खुसीहरुको बलि चढाउन पछि नपर्ने कृतिम आकंक्षाहरुको कारणले गर्दा हो सायद भ्रममा समय ब्यतित गरेर थुकथुकाउनु पर्ने । जसरी यो बेला धमिलो छाया जस्तो बिगतहरु सम्झेर थुकथुकाइरहेछ मन । पोखरी किनारामा उभियर याद गर्छु पनि नभनि दिमागमा मुस्कुराउदै आईपुगेका बिगतका अनुहारहरु सम्झिएँ ।

    र सगसगै सम्झिएँ त्यो पल खै कति जना को दिमागी क्यानभासमा मेरो याद आयो की आयना कोनी, जसरी मैले याद गरेको हुँ । सम्झन्छु र पनि बडो अजिव लाग्छ यो दिमाग । सम्झनु पर्ने कुराहरु फिटिक्कै सम्झिदैन । बिर्सनु पर्ने कुराहरु नै पलपल याद बनेर बेचैन बनाउँछ दील । गजेन्द्र जीले ‘रात पर्न लाग्यो,’ भने पछि घडी हेरेँ ४ बज्न लागेछ । फर्किने बेला रबिन्द्र जी, गोकुल जीहरु सँग बिदा भएर छुट्टियौँ । नयाँ वर्ष, नयाँ जस्तो बनायौँ । रहरहरु, सपनाहरु, बाचा–प्रतिबद्धताहरु नयाँ बनायौँ । बस हामीले जिन्दगीलाई बरु १ वर्ष थोत्रो र पुरानो बनायौँ । बाटो ओरालो थियो । तै पनि रौताबाट गजेन्द्र जी को झण्डैको ससुराली घरको बाटो हुँदै सदरमुकाम फर्कियौँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *