सय बर्षदेखि पूरै गाउँ एउटै पेसामा

भोजपुर । उदयपुर जिल्लासँग सिमाना जोडिएको भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका ६ मा बाक्लै बस्ती भएको होम्ताङ नामको एउटा सुन्दर गाउँ छ । भोजपुर र उदयपुर दुबैतर्फबाट विकट मानिने यो गाउँमा करिव १ सय बर्ष अघिदेखि जिविको पार्जनका लागि नाङ्लो बुन्ने पेसा निरन्तर चलिरहेको छ । करिव ४ सय ५० घर परिवार बसोबास गर्ने होम्ताङ गाउँका सबै घरमा नाङ्लो बुन्ने काम हुन्छ । होम्ताङका हजुरबा हजुरआमादेखि नाती नातिनीसम्म सबैको हातमा नाङ्लो बनाउने सिप छ ।

“नाङ्लोे बुन्ने हाम्रो पेसा करिव १ सय बर्षदेखि निरन्तर चलिरहेको छ” ५५ बर्षिय शुभध्वज राईले भने,“ गाउँका सबै घरमा नाङ्लो उत्पादन हुने गर्छ ।” बुढाबुढी, युवा युवती र बिद्यालयमा पढ्दै गरेका बालबालिका सबैले नाङ्लो बुन्ने गरेको उनले बताए । “ यहाँका सबै महिलाले पुरुषसरह नै नाङ्लो बुन्छन्” ५० बर्षकी विमासरी राई भन्छिन्,“ यही सिपबाटै बर्षौदेखि हाम्रो गुजारा चलिरहेको छ ।” विमासरी बिबाह गर्दा १८ बर्षकी थिइन । होम्ताङमै माइती भएकी उनी बिबाह अघि पनि नाङ्लो बुन्ने गर्थिन ।

यो गाउँमा हजुरबाको पुस्ताबाट नातीसम्म हस्तान्तरण हुँदै आएको नाङ्लो बनाउने सिप पनातीसम्म पुगेको छ । मासिक २० हजार देखि ५० हजार रुपैयाँसम्म कमाइ गर्ने यहाँका गाउँलेले केही बर्ष अघिसम्म नाङ्लो बिक्रीकालागि सुनसरीको चतरा र धरान लैजानु परेतापनि हिँजोआज गाउँमै विक्री हुन्छ । “ आकार र वनावट हेरेर प्रतिगोटा ७० रुपैयाँदेखि १ सय १० रुपैयाँसम्ममा मैले गाउँका सबैको नाङ्लो खरिद गर्ने गरेको छु ” स्थानीय संकलक प्रकाश राईले भने, “ ट्याक्टर मार्फत धरान र चतरासम्म लगेपछि भारतीय व्यापारी त्यहाँ आउँछन् र खरिद गर्ने गर्छन् ।”

होम्ताङको नाङ्लो नेपाल तथा भारतका विभिन्न बजार पुग्ने उनको भनाई छ । पुरै गाउँ लामो समयदेखि निरन्तर एउटै पेसामा संलग्न भइरहदा र पछिल्लो पुस्तासम्म सीपको हस्तान्तरण भइरहदा पनि सरकारी स्तरबाट भने कुनै चासो, खोजि र सहयोग हुन सकेको छैन । यस बर्ष मात्रै वडा कार्यालयले नाङ्लो उत्पादन कार्यलाई सामुहिकरुपमा अगाडि बढाउन केही रकम बिनियोजन गरेको वडाध्यक्ष सागर राईको भनाई छ ।

“ यस बर्षदेखि सामुहिक उत्पादन गर्नका लागि वडाबाट वजेटको व्यवस्था गरेका छौ” राईले भने,“ पहिले भन्दा राम्रो उत्पादन भयो र आम्दानी बढ्यो भने अर्कोसालदेखि अझ व्यापक ढंगले यसलाई अगाडि बढाउँछौं ।” सुन्दा र हेर्दा सामान्य लागेपनि करिव १ सय बर्षदेखि निरन्तर जीविको पार्जन गर्दै आएको नाङ्लो व्यवसाय होम्ताङबासीको पहिचान बनेको छ । सिपको हस्तान्तरणसँगै पछिल्लो पुस्तामा यस व्यावसायप्रति देखिएको उत्साहले होम्ताङ सफल व्यवसायी बस्ने नेपालकै एउटा नमुना गाउँ बन्ने भएकाले सरकारीस्तरबाट समेत सहयोग हुन जरुरी छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *