स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

धरान– गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।

निवार्चित जनप्रतिनिधिहरु स्मार्ट सिटिको भेउ नपाएपनि उनीहरुले भनेजस्तै व्यवस्थित शहरकोरुपमा धरान कस्तो हुनुपर्छ भनेर धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुले नमुना (मोडल) बनाएका छन् । यसलाई उनीहरुले ‘इम्प्रुप सिटि धरान’ अर्थात् सुधारिएको व्यवस्थित शहरको नाम दिएका छन् । यो मोडल सिभिल इञ्जिनियरिङ दोस्रो, तेस्रो र कम्प्युटर इञ्जिनियरीङ दोस्रो बर्षका ५ जना विद्यार्थीहरु मिलेर तयार गरेका हुन् । यस्तै, सिभिल इञ्जिनियरीङकै दोस्रो बर्षका ६ जना विद्यार्थीहरुले बढ्दो सहरीकरण, जनसंख्या र सवारी चापलाई मध्यनजर गर्दै इटहरीको मुख्य चौबाटो चोकमा फ्लाईओभर ब्रिज मोडल बनाएका छन् । उनीहरुले यो दुवै मोडललाई तीन दिनसम्म क्याम्पसको खेल मैदानमा आयोजित प्रदेशस्तरीय इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पोमा प्रर्दशनीमा राखेका थिए ।

एक्स्पो अवलोकनकर्ताहरुले विकासका यी दुवै मोडललाई अत्यधिक चासोका साथ हेरेका थिए । तर, सरोकारवाला सरकारी निकाय, उपमहानगरपालिका र जनप्रतिनिधिहरु भने विकासको यो मोडल हेर्न एक्स्पोस्थल पुगेनन् । देशमा कसरी औद्योगिक विकास गर्न सकिन्छ भन्ने देखाउन विद्यार्थीहरुको अवधारणा हेर्न विकासको योजनाकार मानिएका सरकारी कार्यालयका इञ्जिनियरहरु पनि सायदै पुगे । ‘म त विद्यार्थीहरु लिएर आएको थिए, धेरै प्रभावित भए । दीर्घकालीनरुपमा व्यवस्थित धरान कसरी बनाउन सकिन्छ भनेर हेर्न पाए । धरानको भविष्यको लागि यो मोडल मार्गदर्शक हुनसक्छ,’धरान १५ स्थित चिल्ड्रेन्स एकेडेमीका शिक्षक महेन्द्र तामाङले भने ।

के छ इम्प्रुभ सिटि धरानमा?
इम्प्रुभ सिटि धरानको मोडल सिभिल इञ्जिनियरीङ तेस्रो बर्षका अनिल नेपाल, दोस्रो बर्षका नवनित तिवारी, गिरीधार कोइराला, नविन पौडेल र कम्प्युटर इञ्जिनियरीङका जोनिस सिलवालको टिमले तयार गरेको हो । उनीहरुलाई आर्किटेक निराकार श्रेष्ठले पनि साथ दिएका छन् । उनीहरुले धरानको विभिन्न क्षेत्रमा करिब २० दिनसम्म स्थलगत अध्ययन गरेर यो मोडल बनाएका हुन् । विद्यार्थीहरुले सबैभन्दा बढी सम्भावना बोकेको पर्यटनको विकास कसरी गर्न सकिन्छ भनेर जोडदिएका छन् । उनीहरुले चिण्डे(रमिते)डाँडामा अफ सिजनमा प्याराग्लाइडिङ नहुने भएकोले कार्कीछाप हुदै विष्णुपादुका मन्दिर जोड्ने ट्रेकिङ वा हाइकिङ रुट निकालेका छन् ।यस्तै, विष्णुपादुकाको पकुवा खोलाको खोचमा ग्लास ब्रिज(सिसाको पुल) निर्माण गर्ने अवधारणा पनि राखेका छन् । यो मोडलको पुल पछिल्लो समयमा चीनमा बनाइएको छ । जुन पर्यटकीय गन्तव्य बनेको छ । चीनको यो पुल निर्माण गर्न ३४ करोड लगानी भएको विद्यार्थीहरुको भनाई छ । ‘त्यो धेरै ठुलो र लामो छ, यहाँ सानो भएकोले लगानी पनि थोरै नै हुन्छ,’नवनित तिवारीले भने,‘यहाँ पनि सर्वे गरेर बनाउन सकिन्छ ।’ धरानमा बेला बेला केवलकारको चर्चा खुब हुने गर्छ । यी विद्यार्थीहरुले पिण्डेश्वर विद्यापिठको खाली जग्गाबाट भेडेटार नाम्जे निकाल्ने गरी केवलकार चलाउन सकिने मोडल बनाएका छन् । एरियल भ्युबाट हेर्दा ६.४ किलोमिटर लामो दुरी भएपनि रोप वे चलाउदा झनै कम दुरी हुन्छ । यसको लागि डिटेल सर्वे आवश्यक पर्ने विद्यार्थीहरु बताउछन् ।धरानको फोहोरलाई व्यवस्थित गर्न विद्यार्थीहरुको टिमले धरानको वसन्तटार र पानवारीलाई एग्रो हब बनाउनुपर्ने प्रस्ताव गरेका छन् । यसबाट कृर्षि क्षेत्र विस्तार हुने र फोहोरको उचित व्यवस्थापन गर्न सकिने उनीरुको मोडल छ । वसन्तटारको अग्र्यानिक खेती विस्तार गरी भर्टिकल, एरोपोनिक र हाइड्रोपानिक फार्मिङ लगाउनुपर्छ । पानवारीमा कम्पोष्ट म्यानर प्लान्ट राखेर धरानको कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्न सकिने विद्यार्थीहरुको योजना हो । ‘प्लाष्टिकजन्य फोहोरलाई धरानको औद्योगिक क्षेत्रको प्लाष्टिक उद्योगहरुमा खपत हुन्छ, अहिले पनि ती उद्योगहरुले कवाडीबाट प्लाष्टिक खरीद गरेर काम चलाइरहेको छ,’अर्का विद्यार्थी नविन पौडेलले भने,‘फोहोरको पनि उचित व्यावस्थापन हुन्छ, र धरान एग्रो हब पनि बन्छ ।’

तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बसपार्क सार्न सकिए बजार र भित्री सडकमा सवारी चाप कम हुने भएकाले सिटि ट्रम चलाउन सकिन्छ । विजुलीबाट चल्ने ट्रम गुड्न फलामको लिक भएपनि ट्रेन होइन, तर बस पनि होइन । लिक हुदै अन्य सवारी पनि गुड्न सक्छन् । २ वटा बसको क्षमता हुनाले सवारी चाप ज्यादै कम हुन्छ । यो सिटि सफारी र टेम्पोको उचित विकल्प हुनेछ । ट्रम सञ्चालनमा ल्याउदा धरान १७ स्थित प्रस्ताविक एयरपोर्ट, धरान १३ स्थित जानकी चोक, धरान ३ स्थित चीनीया चोक, धरान १५ स्थित महादेव चोक र धरान ८ स्थित आयोजनास्थलको बसपार्क मुख्य स्टेशन हुनेछ । ‘यो हाम्रो रिङ रोडकै कन्सेप्ट हो, ट्रमलाई अहिलेकै सडकमा चलाउन सकिन्छ । पर्यटन विकासको हिसाबले यो अत्यन्तै उपयुक्त हो,’गिरीधार कोइरालाले भने ।

बसपार्क सरेपछि भानुचोकमा पैदल यात्रीलाई अण्डरग्राउण्ड सब वे बनाउन सकिन्छ । सतहमा भने भानुचोक चारैतिर हरियाली, वगैचासहितको फ्रि वाकिङ स्ट्रिट बनाउनुपर्ने विद्यार्थीहरुको मोडलमा छ । यस्तै, ग्यासको पाइप, विजुजीको तार, टेलिफोन सबैलाई जमिनमुनिबाट लैजानसकिन्छ । चारकोसे जंगलको जैविक विविधतालाई जोगाउन फेन्सिङ(तारबेरा) गर्नुपर्ने उनीहरुको सुझाव छ । यस्तै, सर्दु र सेउतीको कटान रोक्न तटबन्ध बनाउने, सेउतीबाट वाइपास सडक निकाल्ने र तीनकुनेबाट पुरानो घोपा क्याम्प जाने बाटोलाई सर्दु खोला नजिकै निकालेर मध्यपहाडी राजमार्गसँग जोड्नुपर्ने विद्यार्थीहरुको विकासको मोडलमा उल्लेख छ । ‘सहरीकरण, जनसंख्या बढ्दै जान्छ, अहिल्यै ध्यान दिनसके मात्र धरानको दिगो विकास र व्यवस्थित शहर हुन्छ,’तेस्रो बर्षका अनिल नेपालले भने,‘यहाँ हामीले गर्न सक्ने कुरा मात्र राखेका छांै, गर्न सकिन्छ ।’

इटहरीमा फ्लाई ओभर ब्रिज

पछिल्लो बर्षहरुमा इटहरी आवासिय र व्यापारिक केन्द्रको शहरकोरुपमा तीब्र गतिमा विकास भइरहेको छ । इटहरी मुख्य चोकमा उत्तर दक्षिण कोशी राजमार्ग र पुर्वपश्चिम महेन्द्र राजमार्ग जोडिन्छन् । बढ्दो सहरीकरण, जनसंख्या वृद्धिसँगै सवारी चापले इटहरी मुख्य चोक(चौबाटो) पार गर्न निक्कै गाह्रो हुन्छ । यही ट्राफिक समस्यालाई मध्यनजर गर्दै सिभिल इञ्जिनियरीङ दोस्रो बर्षका विद्यार्थीहरु अभिषेक बुढाथोकी, अच्युत शर्मा पौडेल, चरण नेपाली, भिषण भण्डारी, अलिसा मास्के र वन्दाना जगुरेलले फ्लाई ओभर ब्रिज मोडल तयार गरेका छन् ।

उनीहरुको यो मोडलअनुसार पुर्वपश्चिम राजमार्ग ८ लेनको हुन्छ । जसमध्ये ४ लेन सिधै पुर्वपश्चिम जाने सवारी मात्र हुन्छ भने धरान र विराटनगर जानुपर्ने गाडी फ्लाई ओभरबाट सहजै जान सक्छ । अहिले जस्तो धरान वा विराटनगर जानुपर्ने गाडीहरु घुमि रहनुपदैन । ती गाडीहरु फ्लाई ओभरबाट आफ्नै साइडबाट सहजै जान्छन् । कोशी राजमार्ग पनि ४ लेनको फ्लाई ओभर नै हुन्छ । आवश्यकता अनुसार मुख्य चोकमा ८ लेन बनाएर पर्तिर पुर्वपश्चिम राजमार्गलाई कम गर्न पनि सकिन्छ । ‘यो मोडल विदेशतिर मात्र एप्लाई गरिएको छ, अहिले काठमाण्डौं कलंकीमा पनि बन्दैछ । इटहरीमा त यो एकदमै उपयोगी हुन्छ । ट्राफिक जाम हुदैन, भविष्यमा यस्तै प्mलाई ओभर नबनाई हुन्न,’वन्दना गजुरेलले भनिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *