भौतिक योजना मन्त्रालयमा काँग्रेसका तीन पक्षको विवाद, छुट्टाछुट्टै बैठक

काठमाडौं – आफु प्रधानमन्त्री भएको झण्डै डेढमहिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिना भईसक्दा वित्न लाग्दा समेत मन्त्रिमण्डललाई पुर्णता दिन नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले सहयात्री दलहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । सकभर राप्रपालाई पनि सरकारमा सहभागि गराउने योजनामा प्रम देउवा लागेका छन् । देउवाले नेपाली कंग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षलाई भागबण्डामा मन्त्रालय दिएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा आजै मन्त्रिपरिषद् विस्तारमा जुटेपनि राप्रपालाई समेत सहभागी गराउनुपर्ने भएकाले अझै समय तय भएको छैन । सो पार्टीसँग आन्तरिक छलफल गरेर टुंग्याएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुनेछ । ‘ढिलोमा आज पाँचबजेभित्र मन्त्रिपरिषद् विस्तार हुने तयारी छ,’ स्रोत भन्छ ।

तर, बरिष्ठ नेता रामचन्द्र पौडेलले ६ वटा मन्त्रालय मागेपछि प्रधानमन्त्री देउवा थप समस्यामा परेका छन् । पार्टीमा आफ्नो ६० प्रतिशत हिस्सा रहेको भन्दै पौडेलले कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये ६ वटा आफ्नो पक्षले पाउनुपर्ने अडान राखेपछि मंगलबार बिहानैबाट दुवै समुह छुट्छुटटै छलफलमा जुटेका छन् ।

देउवापक्ष बालुवाटारमा छलफलमा जुटेको छ भने पौडेल पक्ष राजधानीको गोप्य स्थानमा छलफलमा जुटेको बताइएको छ । पौडेलले १३ मध्ये आफुले ६ र बाँकी सातवटामा देउवा, सिटौला र खड्कालाई भागबण्डा गर्नुपर्ने बताएपछि देउवालाई पार्टीभित्रकै किचलो व्यवस्थापन गर्न समस्या भएको छ । पौडेल पक्षबाट माग अनुसारका मन्त्रालय पाए बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्र कुमार केसी, जिवन परियार, बद्री पाण्डे, सरिता प्रसांई, कमला पन्त लगायत मन्त्रिमण्डलमा पर्ने बताइएको छ । तर, उता, त्यस्तै सिटौला पक्षबाट भिमसेन दास प्रधान र खड्का पक्षबाट मोहन बहादुर बस्नेतलाई मन्त्रीमा पडठाउने तयारी गरेको छ । तर, देउवाले भने रामचन्द्र पक्षलाई चारवटामात्रै मन्त्रालय दिने तयारी गरेका छन् ।

श्रोतका अनुसार भौतिक योजना तथा सञ्चार मन्त्रालय कसले पाउने भन्नेमा कांग्रेसभित्र चर्को विवाद भएको छ । पौडेल र खड्का समुहले भौतिक योजनाको आफैले पाउनुपर्ने दावी गरेका छन् भने देउवाले पनि भौतिक योजना मन्त्रालय आफै राख्ने इच्छा राखेका छन् । त्यस्तै सिटौलाले भने सञ्चार मन्त्रालयको दावी गरिरहेका छन् ।
देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदेम्बे, अर्जुन जोशी लगायतको नाम मन्त्रि बन्नेमा चर्चामा छ । माओवादी केन्द्रबाट भने गिरिराजमणी पोखरेल, महेन्द्र बहादुर शाही, आशा खनाल, टेकवहादुर बस्नेत, सीता नेपाली मन्त्री बन्ने लगभग निश्चित रहेको छ ।
यो मन्त्रिपरिषद विस्तारमा सकभर राप्रपालाई सहभागि गराउने प्रधानमन्त्री देउवाको चाहाना भएकाले राप्रपालाई समेत सहभागी गराउने प्रयास भइरहेको बुझिएको छ । यद्यपी राप्रपासँग कार्यदलस्तरका नेताले छलफल गरिरहेकाले राप्रपा मन्त्रिमण्डलमा निश्चित भएको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *