



उदयपुर । उदयपुरको लिम्चुङबुङ–१ बाँसबोटेस्थित बुत्कु बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरिने भएको छ । उनलाई बिहिबार जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद लिएपश्चात् अनुसन्धान सुरू गरिएको हो ।
राईलाई एक महिलामाथि बलात्कार प्रयास गरेको उजुरीको आधारमा मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारमान दोङले बताए । डिएसपी दोङका अनुसार इलाका प्रहरी कार्यालय लिम्चुङबुङले उनलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुर पठाइएको समेत डिएसपी दोङको भनाई छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेको डिएसपी दोङका अनुसार पीडित महिलाले दिएको बयान र घटनाका आधारहरूमा जिल्ला अदालत उदयपुरबाट राईमाथि ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरिएको हो । अपराध प्रमाणित भए जवरजस्ती करणी प्रयाससम्बन्धी कानुनअनुसार राईमाथि कैद, जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीको भनाइ छ ।