युवा आन्दोलन लोकतान्त्रिक प्रणालीको स्वास्थ्यको सूचक : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको युवा आन्दोलनलाई मुलुकमा बढ्दो जनचेतना, भ्रष्टाचारविरुद्धको असन्तोष र नयाँ पुस्ताको आकांक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गरेकी छन् ।

संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै उनले सुशासन, समृद्धि र विकासमा देखिएका कमी कमजोरी तथा अपूरा अपेक्षाले पनि असन्तुष्टि जन्माएको बताइन् । ‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा पनि गतिशील हुन्छन्,’ उनले भनिन्, ‘यही कारणले यस्तो आन्दोलन सम्भव भएको हो ।’

उनका अनुसार लोकतन्त्रको अर्थ जनताको आवाज सुन्ने, संवाद गर्ने र समस्याको समाधानतर्फ अघि बढ्ने प्रक्रिया हो, र आन्दोलनलाई सोही दृष्टिकोणमा लिनुपर्नेछ । प्रधानमन्त्री कार्कीले युवा आन्दोलनले उठाएका एजेण्डा आत्मसात् गर्दै सरकार जनअपेक्षा पूरा गर्ने दिशामा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

Facebook Comments