बरुवाको १७औँ वार्षिक साधारण सभा सम्पन्न


गाईघाट । त्रियुगा नगरपालिका–१२ मा रहेको बरुवा क्याम्पसले स्थापनाको १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले साधारण सभाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले बरुवा क्याम्पस स्नातक तहको शिक्षाको महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो । गुणस्तरीय र सर्वसुलभ उच्च शिक्षा प्रदान गर्न क्याम्पसले पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभियन्ता तथा शिक्षाप्रेमी राहुल यादवले वार्षिक साधारण सभा प्रतिवेदन र बजेट पारित गर्ने औपचारिक प्रक्रिया मात्र नभएको बताउनुभयो । उहाँका अनुसार साधारण सभा विगतका गतिविधिको समीक्षा, वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर पनि हो ।

यादवले बरुवा क्याम्पस उदयपुरका हजारौँ विद्यार्थीको भविष्य निर्माणसँग जोडिएको शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको बताउँदै यसको विकास र गुणस्तर अभिवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । साधारण सभामा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलदेव चौधरी, क्याम्पस सभा सदस्य, शिक्षाप्रेमी, पत्रकार, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सभामा क्याम्पसको नीति तथा वार्षिक कार्यक्रम प्रस्तुत गरिएको क्याम्पस प्रमुख तथा सदस्य–सचिव भीमबहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा क्याम्पसको आगामी शैक्षिक गतिविधि, योजना तथा कार्यक्रमबारे समेत छलफल गरिएको थियो ।

Facebook Comments Box