कटारीमा ९ सदस्यीय टीबी च्याम्पियन क्लब गठन (फोटो सहित)

कटारी । क्षयरोग नियन्त्रण तथा न्यूनीकरणका लागि कटारीमा ९ सदस्यीय टीबी च्याम्पियन क्लब गठन गरिएको छ । नेपाल सरकार, ग्लोबल फण्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीचको सहकार्य तथा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग परियोजनाअन्तर्गत क्लब गठन गरिएको हो ।

कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालको उपस्थितिमा भएको कार्यक्रममा क्षयरोगबाट संक्रमित भई उपचारपछि निको भएका व्यक्ति, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा क्षयरोगको पहिचान, उपचार, रोकथाम र समुदायस्तरमा जनचेतना अभिवृद्धिबारे छलफल गरिएको थियो ।

गठित क्लबले क्षयरोगका सम्भावित बिरामीको पहिचान, सही सूचना तथा परामर्श प्रदान गर्नुका साथै शंकास्पद व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन सहजीकरण गर्नेछ । साथै, क्षयरोगसम्बन्धी गलत धारणा र सामाजिक विभेद न्यूनीकरण तथा उपचाररत बिरामीलाई नियमित औषधि सेवनका लागि प्रोत्साहन गर्ने जनाइएको छ ।

स्वास्थ्य शाखा प्रमुख दाहालले कटारीलाई क्षयरोगमुक्त नगरपालिका बनाउन क्लबको गठनले महत्वपूर्ण योगदान पुग्ने बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय उदयपुर, कटारी अस्पताल, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बागमती सेवा समाजका गौरव सुन्दासले गरेका थिए  ।

Facebook Comments Box