



उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलालाई चिकित्सकले बिहान ११ः४५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय ईन्द्र थापा र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।