



उदयपुर । उदयपुरमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी १२ वर्षीया बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–९ हडिया निवासी गृष्मा कार्कीको शव पोखरीमा तैरिएको अवस्थामा फेला परेको हो ।
गृष्मा मावलीघर आएकी बेला साथीहरूसँग पौडी खेल्न त्रियुगा नगरपालिका–३ मोतिगडास्थित क्याम्पसडाँडामा रहेको जोरपोखरी सामुदायिक वनले निर्माण गरेको पोखरीमा गएकी थिइन् । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीले खोजी अभियान सञ्चालन गरेका थिए ।
त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष तिलक कटुवालका अनुसार घटनाको करिब १५ घण्टापछि गृष्माको शव पोखरीमा तैरिएको अवस्थामा फेला परेको हो । अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।