चौदण्डीगढीको १ अर्ब ३७ करोडको बजेट, कृषि र पूर्वाधारमा उच्च प्राथमिकता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २ सय १२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कृषि उत्पादन वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर ल्याइएको बजेट मंगलबार सम्पन्न २०औँ नगरसभाबाट प्रस्तुत गरिएको हो ।

नगरप्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख मणीकादेवी दुलालले बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये ९१ करोड ८५ लाख रुपैयाँ चालु तथा सशर्त अनुदानतर्फ र ४५ करोड २४ लाख ५ हजार २ सय १२ रुपैयाँ विकास तथा पूँजीगत कार्यक्रमका लागि विनियोजन गरिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८३र८४ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै कृषकले प्रयोग गर्ने कृषि विद्युत् मिटरमा लाग्ने अतिरिक्त ५ प्रतिशत भ्याट नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ ।

कृषि हाटबजार पूर्वाधार निर्माण, धान तथा गहुँको बीउमा अनुदान, खरबुजा खेती प्रवर्द्धन, प्राङ्गारिक कृषि कार्यक्रम, कृषि मोटर, टनेल र च्यापकटर वितरणका कार्यक्रमसमेत समेटिएका छन् । पूर्वाधार विकासतर्फ बहुवर्षीय योजनाअन्तर्गत सडक कालोपत्रे गर्ने तथा प्रत्येक वडामा १५ किलोमिटरका दरले सडक स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रका लागि खानेपानी आयोजनामा २ करोड रुपैयाँ छुट्याइएको छ भने १५ शैयाको चौदण्डीगढी आधारभूत नगर अस्पताल आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बजेटमा सामाजिक सुरक्षाअन्तर्गत विपन्न मुसहर परिवारलाई चाडपर्व खर्च उपलब्ध गराउने, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई सहायता दिने तथा विपन्न नागरिकको सद्गत खर्च व्यवस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । शिक्षा क्षेत्रमा बाल शिक्षक तथा विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र विद्यालय भौतिक सुधार कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

बजेटमा युवालाई सीप र रोजगारीसँग जोड्न सीप सम्मेलन तथा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ । नगरप्रमुख लामाले उत्पादनमुखी अर्थतन्त्र निर्माण, सेवा प्रवाहमा सुधार र समृद्ध चौदण्डीगढी निर्माणलाई लक्ष्य बनाएर बजेट ल्याइएको बताए ।

Facebook Comments Box