



गाईघाट । प्रगतिशील पत्रकारिता र क्रान्तिकारी विचारमा जीवन समर्पण गरेका सहिद कृष्ण सेन ‘इच्छुक’ को २३ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर उदयपुरले ‘गणतन्त्र र जनपक्षीय पत्रकारिता’ विषयक अन्तर संवाद कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ उदयपुरको सभाहलमा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि तथा श्रमजीवी पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले गणतन्त्र र संघीयता वर्तमान अवस्थामा चुनौतीमा परेको भन्दै प्रगतिशील पत्रकारहरूले एकताबद्ध भएर जनतामुखी पत्रकारिताको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए । बरिष्ठ पत्रकार, प्रेस स्वतन्त्र सेनानी एबम् कार्यक्रमका प्रमुख अतिथि कौशल चेम्जोङले कृष्णसेन ‘इच्छुक’लाई सम्झदै पत्रकारिता र मानवअधिकारको लागि सधैसधैलाई जीवन समर्पण गरेको बताए । इच्चुक जस्ता हजारौहजारको त्याग र बलिदानले ल्याएको संघीय गणतन्त्रमाथी धावा बोल्दै आएकोले ध्यानदिनुपर्नेमा समेत चेम्जोङको जोड रहेको थियो ।
त्यसैगरि कार्यक्रमका विशेष अतिथि हरिकुमार राईले जनपक्षीय पत्रकारिताको प्रेरणाका स्रोत कृष्णसेन रहेको बताए । उनको कृष्णसेनको हत्या राज्यबाट भएको भन्दै दुःख ब्यक्त समेत गरका थिए । यसैगरि नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भक्तिबिलास पोखरेलले युद्धकालिन अवस्थामा पत्रकारिता पेशा जटिल अवस्थामा रहेको थियो । अध्यक्ष पोखरेलले त्यस्तो जटिल अवस्थामा पनि कृष्णसेनले पत्रकारिता र वाक स्वतन्त्रताको लागि महत्वपूर्ण भूमिकाको स्मरण गरे ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र राईले कृष्णसेनको प्रेरणादायी भूमिकाबाट पाठ सिक्दै जनपक्षीय पत्रकारिता र वाक स्वतन्त्रताको लागि कलम चलाउनु आजको आवश्यकता रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन र जस्तो सुकै परिस्थितिको सामना गर्न सबै प्रगतिशिल पत्रकारहरु भूगोल र गुगोल दुबैमा कृयाशिल हुनुपर्नेमा जोड समेत दिएका थिए । मन्तव्यको क्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य भोटराज राईले पत्रकारिता नेतामुखी र ठेकेदारमुखी बन्दै गएको बताए ।
उनले आउदा दिनहरुमा जनतामुखी पत्रकारिता हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसीप्रसाद कोइरालाले सहिद इच्छुकको योगदान स्मरण गर्दै “गणतन्त्र ल्याउनुमा उनको ठूलो योगदान रहेको बताए । कोइरालाले इच्छुकको सपना पुरा गर्न सबै लाग्नुपर्ने बताए । कार्यक्रममा प्रेस युनियन उदयपुर अध्यक्ष पर्शुराम थापाले गणतन्त्र विरोधी सोच हावी भइरहेको बताए । त्यसविरुद्ध सबै पत्रकारहरु एक जुट भएर कलम चलाउनुपर्ने बताए ।
त्यसैक्रममा समाजवादी प्रेस संगठन प्रदेश कमिटीका सहसचिव सुखिलाल चौधरीले गणतन्त्रवादी नेताहरूका कमजोरीकै कारण व्यवस्था संकटमा परेको आरोप लगाए । त्यस्तो कम्जोरीलाई सच्याएर अगाडी बढ्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष विश्वराज तामाङले वर्तमान पत्रकारितामा जटिलता बढिरहेको उल्लेख गरे । उनले पत्रकारहरुको कलम अब गणतन्त्र र संघीयताको पक्षमा चल्नुपर्ने बताए ।
त्यसैगरि कार्यक्रमको सभापति तथा प्रेस सेन्टर उदयपुरका अध्यक्ष अभिमन्यू लामिछानेले अबको पत्रकारिता सहिद सेनको आदर्श पछ्याउने दिशामा जानुपर्ने बताए । लामिछानेले कृष्णसेनको पत्रकारिता जनताको पक्षमा रहेको र आजपनि उनको दृष्टिकोणहरु सान्दर्भिक नै रहेको बताए । कृष्णसेन इच्छुकको हत्या २०५९ साल जेठ १३ गते हिरासतमा गरिएको थियो । उनी जनदिशा दैनिकका प्रधान सम्पादक, साहित्यकार र तत्कालीन माओवादी आन्दोलनका सांस्कृतिक अभियन्ता थिए ।
भिडियोः