रौतामाई । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले यस बर्षदेखि वजेटको प्रकृति र बनाउने तरिकामा संघीयताको मुलमर्म अनुसार परिवर्तन गरिने बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै उनले मुलुक संघीयतामा गएपनि वजेट बनाउने तौरतरिका यथास्थितिमा रहेकाले यस बर्षदेखि कानुन नै संशोधन गरिएको बताए ।
प्रधानमन्त्री दाहालले जनताको आवश्यकतालाई आधारमानी जनप्रतिनिधिहरुको राय सुझाब अनुसार वजेट विनियोजन र कार्यान्वयन गर्ने गरी नीति परिवर्तन गरिएको बताए । पछिल्लो समय संघीय व्यवस्थालाई नै धाँवा पुग्ने गरी केहि गतिविधीहरु बढ्दै गएको प्रति लक्षित गर्दै उनले भने, ‘बर्षौदेखिको जनताको लडाई र हजारौको वलिदानबाट उपलब्ध व्यवस्था जान नदिने गरी आगामी बर्ष कार्यक्रम ल्याईने छ ।’
मुलुकको अर्थतन्त्र प्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले नेपालको अथन्तन्त्र संकटको सूचिबाट टरेको बताए । उनले सरकार शान्तिप्रक्रियाका केही कामहरु राजनैतिक दलहरुको सहमतिमा टुङ्गाईने प्रकृयामा अघि बढेको बताए । प्रधानमन्त्री दाहालले देशका युवाहरुलाई आर्थिक क्रियाकलापमा जोड दिने नीति अनुरुप विभिन्न योजनाहरु अघि बढाईएको समेत बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले मुख्यराजमार्ग र पालिका जोड्ने सडक सञ्चालनमा कठिनाई भएको, वडा कार्यालय जोड्ने सडक वार्है महिना सञ्चालन गर्न नसकिएको बताए । उनले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिकाको समग्र सेवा प्रवाहमा सजिलो हुने उनले बताए ।
रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष मगरले बताए । प्रशासनिक भवन फरक क्षमतामैत्री विद्युतीय भर्याङ (लिफ्ट) जडान गरिएको छ । साँढे दुई तले भवनमा एक सभाहल, न्यायिक समितिको ईजलास सहित २८ वटा कोठा रहेको छ ।
गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरी भवनको निर्माण भएको छ । २०७७ असोजमा सुरु भएको भवन निर्धारित समयभित्र नै २०८० भदौमा रौताहा, धुलिखेल, सुसम आदित्य जेभीले निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो । कार्यक्रममा शहिद परिवारका सात जनालाई प्रधानमन्त्री दाहालले दोसल्ला ओढाई सम्मान गरेका थिए ।