उदयपुर, ११ बैसाख । अनिवार्य शिक्षा सुनिश्चितताका लागि सरोकारवाला सबैसंग आग्रह गरी विद्यार्थी भर्ना अभियान २०७४ लाई प्रभावकारी बनाउने जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जिशिकाले सञ्चारकर्मी, पत्रकार लगायत सबै सरोकारवाला पक्षहरुसंग सहयोगको अपिल गरी अभियानलाई प्रभावकारी बनाउने जनाएको हो । “हामी सबैको इच्छा, निःशुल्क अनिबार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथ यहि बैसाख २ देखि ३० गतेसम्म दुईचरणमा विद्यार्थी भर्ना अभियान जिल्लामा सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी हरिहर धितालले जानकारी दिए । अभियान सुरु भएको १४ दिनसम्म स्वतस्फुर्त रुपमा विद्यालयले भर्ना अभियान सन्चालन गर्ने र सो अवधिमा विद्यालय आउन नसकेका विद्यार्थीलाई बैसाख ३० गतेसम्म विशेष पहल गरी भर्ना गराउने कार्यक्रम रहेको पनि उनले बताए । अभियानलाई प्रभावकारी बनाउन विद्यालयहरुमा विशेष भर्ना अभियान समिति गठन गर्न, शिक्षकका पेशागत संघसंस्था परिचालन गर्दै सचेतना कार्यक्रम, मोटरसाईकल र्याली जस्ता कार्यक्रमहरु गर्न जिशिकाले निर्देश गरेको छ । गत साल १ लाख ३७ हजार ६ सय २१ जना भर्ना संख्या रहेको उदयपुरमा विद्यालय बाहिर हुने बालबालिकाको संख्या न्यून रहेको जनाईएको छ । केही मात्रामा कक्षा दोहोर्याउने, विचैमा कक्षा छाड्ने समस्या पनि रहेको जानकारी दिदै उनले यस्ता समस्या हटाउन र विद्यार्थी भर्ना बढाउन अभियान सञ्चालन गरिएको जिशिअ धितालले बताए ।